
काठमाडौँ । निर्देशक तुलसी घिमिरेले मंगलबार गोरखाबाट आगामी कथानक फिल्म ‘पहाड’को छायांकन थालेका छन् । ऐतिहासिक गोरखा दरबारमा मुहूर्त पूजा गरेपछि छायांकन सुरु भएको हो ।
मुहूर्त पूजामा कलाकार मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री तथा घिमिरेकी कान्छी छोरी पञ्चमीले सट् दिए । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक, आर्थिक समस्याको कथा फिल्मले पेश गर्छ ।
पटकथा पनि घिमिरेले लेखेका हुन् । समाजको यथार्थतालाई दर्शकमाझ ल्याउन लागेको उनले बताए । भन्छन्, ‘यसमा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिने छ । फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई पनि चित्रण गर्छ ।’
विषयवस्तुअनुसार कलाकार छनोट गरिएको निर्देशक घिमिरेले बताए । राम्रो टीम पाएको र सेटमा फर्किँदा उत्साह महसुस गरेको उनले बताए । ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गर्नेछन् ।
भारतमा फिल्म, वेब-सिरिज र टेलीफिल्म समेत छायांकन गरिसकेका प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् । ३ दशकपछि उनी नेपाली फिल्मको छायांकनमा फर्किएका हुन् ।
‘पहाड’को छायांकन गोरखामा २५ दिन भारतमा १५ दिन हुनेछ । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपिन कार्की, सुनिल थापा लगायतको अभिनय हुनेछ ।
रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशकको रुपमा छन् । रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ सहनिर्माता रहेको फिल्मलाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछन् । घिमिरेले पछिल्लोपटक ‘दर्पणछायाँ २’ निर्देशन गरेका थिए ।
प्रतिक्रिया 4