+
+

वैशाखमै होला रास्वपाको पहिलो महाधिवेशन ?

पछिल्लो दुई महिना पार्टी सभापतिविरुद्धको मुद्दामा केन्द्रित हुनुपर्दा निर्धारित मितिमा महाधिवेशन हुन नसक्ने शंका पार्टीभित्रबाटै हुन थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १७:०१
पछिल्लो पटक बसेको रास्वपा सचिवालय बैठक (फाइल तस्वीर)

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तोकेको महाधिवेशनको मिति आउन अब करिब सय दिनमात्रै बाँकी छ । २०८२ साल वैशाख अन्तिम साता पहिलो महाधिवेशन गर्ने घोषणा यो पार्टीले गरेको थियो ।

तर, पार्टीले तय गरेको कार्यतालिका कार्यान्वयन भने सुस्त देखिन्छ ।

हालसम्म ७१ वटा जिल्लाको सम्मेलनबाट तदर्थ समिति गठन भएको छ । मनाङ, मुस्ताङ, पूर्वी रुकुम, डोल्पा, रसुवा र जुम्लामा त सम्मेलन नै हुन सकेको छैन । सम्मेलन नहुँदा ती संगठनको संरचना बन्ने कुरै भएन ।

रास्वपाले असोज पहिलो साता राष्ट्रिय भेलाबाट वैशाख अन्तिम साता पहिलो महाधिवेशन गर्ने निर्णय भएको थियो । त्यसउपर केन्द्रीय समितिमा हालसम्म छलफलको एजेण्डा नबनेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए ।

‘केन्द्रीय समितिले अहिलेसम्म महाधिवेशनको तालिकाको एजेण्डामा छलफल भएको छैन । अबको बैठकमा तालिका बारे छलफल हुन्छ,’ बुर्लाकोटीले अनलाइनखबरसँग भने ।

रास्वपाले फागुन पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । जिल्ला, प्रदेशको अधिवेशनको समय र प्रतिनिधि छनोटको विधि केन्द्रीय समितिमा छलफल हुने बुर्लाकोटी बताउँछन् ।

अधिवेशन हुन नसकेका स्थानबाट प्रतिनिधि छनोटको विधिमासमेत पार्टीभित्र औपचारिक छलफल प्रारम्भ भएको छैन । राष्ट्रिय भेलाको निर्णय अनुसार पालिका र जिल्ला अधिवेशनको समय चैत महिनाका लागि छुट्याइएको थियो । २०८२ को वैशाखमा प्रदेश र केन्द्रीय अधिवेशन गर्नेगरी महाधिवेशनको कार्यतालिका बनेको थियो ।

हाल पालिकाका समिति गठन र वडा तहका अधिवेशनमा पार्टी जुटिरहेको छ । पालिका अधिवेशन फागुनको दोस्रो साताबाट सुरु हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले जानकारी गराए । ‘अहिले पालिका समिति गठन र वडामा अधिवेशन भइरहेको छ । फागुनको दोस्रो सातादेखि पालिका अधिवेशनको काम सुरु हुन्छ,’ बुर्लाकोटीले भने ।

राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री बुर्लाकोटीले पेस गरेको महाधिवेशनको कार्यतालिका पारित भएको थियो । असोजदेखि माघसम्म वडा तदर्थ समिति बनाउने र फागुनमा वडा अधिवेशन सक्नेगरी कार्यतालिका बनेको थियो । पालिकामा तदर्थ समिति गठनको प्रक्रिया कात्तिकदेखि सुरु गरेर फागुनमा सक्ने निर्णय भएको थियो ।

रास्वपा नेताहरूका अनुसार हालसम्म करिब चार सय पालिकामा तदर्थ समिति बनेको छ ।

संगठन निर्माण, भेला, सम्मेलन गरेर देशभरका सबै वडा र पालिकामा भने तदर्थ समिति गठन गर्न नसकिने रास्वपाले निक्र्यौल गरिसकेको छ । कार्यवाहक महामन्त्री बुर्लाकोटीले पार्टी बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमा महाधिवशेन अगाडि कम्तीमा ४ हजार वडा र ५ सय पालिकामा तदर्थ समिति गठन गर्ने लक्ष्य राखिएको छ ।

रास्वपाका एक नेताका अनुसार निर्धारित मितिमा महाधिवेशन हुनेमा पार्टीभित्र आशंका छ ।

सभापति रवि लामिछाने पक्राउ परेपछि सिंगो पार्टी उनको प्रतिरक्षामा खटिँदा पार्टी महाधिवेशनतर्फ लाग्न नसकेको ती नेता बताउँछन् ।

‘दुई महिना जति समय पार्टीको अरू आन्तरिक कार्य हुनै सकेनन् । सभापतिलाई जहाँ–जहाँ लगियो । पार्टीका नेताहरू त्यता केन्द्रित हुनपर्‍यो,’ ती नेताले भने ।

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका सभापति लामिछाने ८४ दिनपछि थुनामुक्त भएका थिए । पोखरा, बुटबल र काठमाडौंबाट धरौटीमा उनलाई छाडिएको छ ।

कार्यबाहक महामन्त्री बुर्लाकोटी कार्यतालिका कार्यान्वयन हुनेगरी लागिरहेको तर प्राविधिक कारणले तोकिएको समयमा हुन नसक्ने अवस्था रहे केन्द्रीय समितिले निर्णय लिने बताउँछन् ।

महाधिवेशनको कार्यतालिकाकै बीचमा रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद समेत राखेको छ । फागुनमा सात प्रदेशमा नेताहरू खटाएर संवाद गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?