+
+

चितवनमा रविविरुद्ध ठगी मुद्दा मात्रै, छविसहित १२ जनालाई भने संगठित अपराध पनि

रवि लामिछानेविरुद्ध कास्की, काठमाडौं र रुपन्देहीमा संगठित अपराध र ठगीको अभियोग लगाएको सरकारी वकिलले चितवनमा भने ठगीमा मात्र सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८१ माघ २२ गते २०:१०

२२ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की,  काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘सहकारीको रकम गएका मध्ये एकभन्दा बढी कम्पनीमा सञ्चालक रहेकाहरुलाई पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ, लामिछाने भने एउटा कम्पनीमा मात्र सञ्चालक देखिन्छन् ।’

सरकारी वकिलले लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकीविरुद्ध ठगीमा मात्र मुद्दा दायर गरेको छ ।

मुलुकी अपराध संहिताको दफा २४९ मा रहेको ठगीको दफा १ र २ मा कसैलाई बेइमानीपूर्वक कुनै किमिसको हानी, नोक्सानी पुर्‍याए ठगी गरेको मानिने भनिएको छ ।

सरकारी वकिलले उल्लेख गरेको दफा २४९ को उपदफा ३ मा यस किसिमको ठगीमा संलग्नलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहितामा व्यवस्था छ ।

संगठित अपराध र ठगी दुवैमा मुद्दा दायर भएकाहरुमा जिबी राई, सागर केसी, हेमन्त अधिकारी, आशिष राना मगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा र नेत्रप्रसाद बाँस्तोला समेत गरी १२ जना छन् ।

चितवनको सहकारी प्रकरणमा बयान दिने क्रममा रविले अन्यत्रझैँ रकम ल्याउने क्रममा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

अदालतमा दायर अभियोग पत्रमा सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हब्र्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७,  जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ गएको देखिएको छ ।

नेचर नेष्ट कम्पनीमा ६ करोड ५१ लाख १० हजार ३२२ र गोरखा ग्रुप अफ मल्टी इन्भेष्टमेन्ट– १७ लाख ५८ हजार रुपैयाँ गएको देखिएको छ ।

गोर्खा मिडियामा गएको रकममध्ये जिबी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेल र जिबी ग्रुप अफ कम्पनीबाट भराउनुपर्ने मागदाबी अभियोग पत्रमा गरिएको छ । अन्य कम्पनीमा गएको रकम समेत त्यसका सञ्चालकहरुबाट भराउनुपर्ने माग दाबी लिइएको छ ।

रवि लामिछानेले पहिले आफू सहकारीको रकम ल्याउने काममा संलग्न नरहे पनि सञ्चालक रहँदा खर्च भएको रकमको जिम्मेवारी लिन तयार रहेको सार्वजनिक रुपमै बताएका थिए । अहिले चितवनको सहकारी प्रकरणमा बयान दिने क्रममा उनले अन्यत्र झैँ रकम ल्याउने क्रममा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

लामिछानेले टेलिभिजनमा रकम ल्याउने कार्यमा सञ्चालकका रुपमा जिबी राई नै जिम्मेवार रहेको भनेका छन्, ‘कम्पनीका चेकहरुमा हस्ताक्षर गर्ने व्यक्तिहरुमध्ये म एक भए पनि कम्पनीको लगानीकर्ता म थिइनँ, मेरो जिम्मेवारी भनेको ग्यालेक्सी फोरके टिभीमा प्रशारण हुने सामग्रीमा केन्द्रित थियो ।’

लामिछानेलाई सहकारी रकम अनियमिततामा जिम्मेवार बनाउनुपर्ने भन्दै एमाले सांसद् सूर्य थापाको नेतृत्वमा गठित संसदीय विशेष समितिले ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको थियो ।

थापा नेतृत्वको समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखिएको भनिएको थियो ।

त्योमध्ये २२ करोड ४६ लाख रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानोपाइला, स्वर्णलक्ष्मी, समानता र सहारा सहकारीबाट जम्मा भएको देखिएको थियो भने ४३ करोड ७ लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा जम्मा गरेको देखिएको निष्कर्ष निकालिएको थियो ।

प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई ६ असोजमा पक्राउ परेका थिए भने रवि २ कात्तिकमा वनस्थलीस्थित पार्टी कार्यालयबाट समातिएका थिए ।

उनलाई कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौं जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाडेको थियो । कास्की र काठमाडौं जिल्ला अदालतले उनलाई क्रमशः धरौटीमा छाड्ने आदेश दिएपछि लामिछानेले बाहिरै रहेर मुद्दाको प्रक्रियालाई सघाउने सुविधा पाएका छन् ।

चितवनमा मुद्दा दर्ता भएसँगै उनी अदालत हाजिर भएपछि उनको मुद्दामा थुनछेक बयान र बहस हुनेछ । त्यसपछि साधारण तारेखमा छाड्ने, धरौटी तोकेर छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश न्यायाधीशले गर्नेछन् । चितवनपछि पर्सामा पनि उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुने क्रममा छ ।

अनुसन्धान अन्तिम चरणमा पुगेपछि केही दिनअघि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, पर्सालाई सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि त्यहाँ पठाएको थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?