२२ माघ, काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए ।
महानिर्देशक पनेरुका अनुसार वि.सं. २०२९ सालमा कम्पनी स्थापना भएपनि २०६४/0६५ सालसम्म जिएमपीको प्रावधान थिएन । यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो । लिमेटेडले २०७४ सालदेखि नै सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपनि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।
प्रमाणपत्र प्राप्त गर्नु आफैँमा ठूलो उपलब्धि भएको पनेरुको भनाइ छ ।
हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाईसस फ्लूइड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।
कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरुले बताए। सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीका योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्नसमेत सकिने उनको भनाइ छ ।
दीर्घरोगीका लागि औषधि उत्पादन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य सुरु भइसकेको पनेरुले जानकारी दिए। ‘कम्पनी र काठमाडौं महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधि उत्पादन गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । आजै मात्रै निर्णय भई अनुसन्धानको काम सुरु भइसकेको छ’ महानिर्देशक पनेरुले भने ।
प्रतिक्रिया 4