
२२ माघ, काठमाडौं । उत्तरपश्चिमी युरोपेली देश इस्टोनियाले नेपालको साइबर सुरक्षामा सहयोग गर्न इच्छुक रहेको जनाएको छ ।
नेपालका लागि इस्टोनियाका अवैतनिक वाणिज्य दूत एवं पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालसँगको भेटमा त्यहाँको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्यस्तो इच्छा व्यक्त गरेका हुन् ।
दाहालका अनुसार इस्टोनियाले डिजिटल प्रणाली प्रयोग, विस्तार र साइबर सुरक्षा क्षेत्रमा सहयोग गर्न चाहेको छ । इस्टोनियाका अधिकारीहरूले ई–गभर्नेन्स र साइबर सुरक्षा सम्बन्धी विज्ञ नेपाल पठाएर सरकारी कर्मचारी, निजी क्षेत्र (बैंकिङ र गैरबैंकिङ) तथा विभिन्न विश्वविद्यालयमा सूचना प्रविधि (आईसीटी) विषय अध्ययनरत विद्यार्थीलाई व्यावसायिक तालिम दिन सकिने बताएका छन् ।
‘उहाँहरूले विज्ञ टिम नै पठाएर नेपालमा प्रणाली विस्तार र साइबर सेक्युरिटीबारे तालिम दिने प्रस्ताव गर्नुभएको छ,’ दाहालले भने, ‘म नेपाल फर्किएपछि परराष्ट्र मन्त्रालय मार्फत कुरा अघि बढाउँछु ।’
इस्टोनिया सरकारी कामकाज, बैंकिङ प्रणाली, जागिर र चुनाव लगायतमा शतप्रतिशत अनलाइन (डिजिटल) प्रणाली प्रयोग गरेको देश हो । युरोपका अधिकांश देश र भारतसम्म इस्टोनियाको अनलाइन व्यापारमा बलियो उपस्थिति छ ।
दाहालले इस्टोनियाका अधिकारीहरू समक्ष नेपाल विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय चिया, कफी र हस्तकला सामान उत्पादक देश भएकाले ती सामानको बजार विस्तारमा सहयोग गर्न पनि आग्रह गरेको बताए ।
दाहालले सोमबार इस्टोनियाको परराष्ट्र मन्त्रालय अन्तर्गत मानव अधिकार र आप्रवासन सम्बन्धी विभाग प्रमुख केटरिन किभी, सोही विभाग अन्तर्गत अफ्रिका, मध्यपूर्व र एसिया प्रशान्त क्षेत्र हेर्ने ग्रेटी भेथर, संयुक्त राष्ट्र संघीय संयोजक लिसा साफ्रिक, परराष्ट्र मन्त्रालय अन्तर्गत व्यापार, कूटनीति र मानव स्रोतसम्बन्धी विभाग निर्देशक अर्वाे एन्टोन, शिक्षा–आर्थिक कूटनीति हेर्ने विभागका पिप जाहिलो, व्यापार र कूटनीति सम्बन्धी विभागका एसिया क्षेत्रका सल्लाहकार कार्मेन पाजुस्टे, ई–गभर्नेन्स एकेडेमीको तालिम विभाग प्रमुख एनेला किराट्स र भारतका लागि इस्टोनियाका पूर्वराजदूत रिहो क्रुभसँग भेटेका थिए ।
भेटबाट आगामी दिनमा नेपाल र इस्टोनियाबीच आर्थिक र कूटनीतिक सम्बन्ध थप मजबुत, गतिशील र पारस्परिक रूपमा लाभदायी हुने विश्वास बढेको दाहालले बताए ।
यसअघि ‘इस्टोनिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री’ का पदाधिकारीसँग पनि दाहालले भेटेका थिए । त्यस क्रममा नेपाल–इस्टोनिया चेम्बर अफ कमर्स स्थापना गर्नेबारे सहमति भएको थियो ।
प्रतिक्रिया 4