+

पोखरामा बुधबारदेखि दोस्रो विश्वविद्यालय खेलकुद सुरु हुँदै

२०८१ माघ  २२ गते २०:२३ २०८१ माघ २२ गते २०:२३
पोखरामा बुधबारदेखि दोस्रो विश्वविद्यालय खेलकुद सुरु हुँदै

२२ माघ, पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा गण्डकी विश्वविद्यालयको सह-आयोजनामा दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा सुरू हुँदै छ । माघ २३ र २४ गरी दुई दिन सञ्चालन हुने प्रतियोगितामा नेपालका ९ विश्वविद्यालयका खेलाडीले भाग लिनेछन् ।

उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राखेपका सदस्य एवं आयोजक समितिका संयोजक डा. मधुसुदन सुवेदीले मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमान्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमूनिका विद्यार्थीभित्र रहेको खेल प्रतिभाको प्रष्फुटन गराउने तथा खेलाडीहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उदेश्यसहित राखेपले गत वर्षदेखि विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालेको थियो ।

विश्वविद्यालय अनुदान आयोगको समन्वयमा हुन लागेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, ब्याडमिन्टन र टेबलटेनिस गरी ४ खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जम्मा १९ स्वर्णका लागि भिडन्त हुनेछ ।

एथलेटिक्सको पुरूष र महिलामा ५–५ गरी १० स्पर्धामा खेल हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरूष र महिलाको सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ भने भलिबलमा पुरूषतर्फ मात्र खेल हुनेछ ।

एथ्लेटिक्समा छात्र र छात्रा दुवैको १००, २००, ४०० र ८०० मिटर दाैड तथा लङजम्प विधा गरी १० इभेन्ट समावेश छ । यस्तै ब्याडमिन्टन र टेबलटेनिसमा छात्र/छात्र सिंगल्स र डबल्स गरी कुल ८ इभेन्ट हुनेछ भने भलिबलमा १ इभेन्ट मात्र हुनेछ ।

प्रतियोगिताका संयोजक बजेटका कारण र आवश्यक टिम नभएकोले छात्रा भलिबल यस पटक समावेश नभएको बताए । साथै उनले आगामी दिन त्यो विधा पनि समेट्दै जाने बताए ।

प्रत्येक विश्वविद्यालयबाट २६ का दरले ९ विश्वविद्यालयबाट जम्मा २ सय ३४ खेलाडी सहभागी हुनेछन् । एथ्लेटिक्समा छात्र र छात्रा ४-४, ब्याडमिन्टन र टेबलटेनिसमा छात्र र छात्रा २-२ तथा भलिबलमा एक टिममा १० छात्रा खेलाडी रहनेछन् ।

प्रतियोगिताको च्याम्पियन टिमका लागि रनिङ शिल्डको व्यवस्था गरिएको छ । यस्तै शीर्ष तीनमा रहने विश्वविद्यालयलाई ट्रफी प्रदान गरिनेछ । प्रत्येक इभेन्ट (व्यक्तिगत र समूहगत) मा पहिलो हुने खेलाडीलाई नगद ३ हजार पुरस्मार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू पोखरा रंगशाला हातामा हुनेछ । पोखरा रंगशालामा मंगलबारदेखि २४औं आहा रारा पोखरा गोल्डकप फुटबल पनि सुरू भएको छ ।

आहा रारा पोखरा गोल्डकपको आयोजकसँग छलफल गरेर एथ्लेटिक्सका खेलहरु बिहान ११ बजेसम्म मात्र गर्ने विश्वविद्यालय खेलकुदको आयोजकले जनाएको छ ।

विश्वविद्यालय खेलकुद प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय