
२२ माघ, हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन निरन्तर सञ्चालनमा सत्तापक्ष र विपक्षी दलबीच सैद्धान्तिक सहमति जुटेको छ ।
सांसदका योजनामा बजेट थप्ने सहमति कार्यान्वयन नगरेको भन्दै बागमती प्रदेशसभा सञ्चालनमा अवरोध पुर्याउने विपक्षी दल आफ्नो अडानबाट ‘ब्याक’ भएको छ ।
बागमतीका सभामुख भुवन पाठकले मंगलबार राखेको सर्वदलीय बैठकमा प्रदेशसभालाई निरन्तर सञ्चालनका लागि सबै दलबीच सैद्धान्तिक सहमति जुटेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
सरकारले सहजै प्रदेशसभा सञ्चालनको वातावरण तयार नगरेको विपक्षी दलहरुले आरोप लगाउँदै आएका थिए । १७ माघमा प्रदेशसभा सचिवालयमा भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा १८ गते हिउँदे अधिवेशनको सुरुवात गर्ने बैठक सञ्चालनका लागि सहमित जनाउँदै आगामी बैठक सञ्चालनमा पूर्वसहमति कार्यान्वयनको ग्यारेन्टी खोजेको थियो ।
प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा ३ वटा विधेयक पेस गर्ने भनिएको थियो । तर दलहरुबीच सहमति नजुट्दा विधेयक पेस हुन सकेको थिएन ।
विपक्षी दलहरुले सरकारले विगतमा गरेका सहमति कार्यान्वयनको प्रगतिबारे बिहीवार प्रदेशसभामा बसेको कार्यव्यवस्था परामर्श समितिको प्रश्न उठाएपछि सम्भावित कार्यसूचिमा फेरबदल गरिएको थियो ।
६ असोज २०८१ मा बागमती प्रदेशसभाका दलहरुबीच विपक्षी दलका सांसदको योजनामा बजेट थप गर्ने सहमति भएको थियो । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विपक्षी दलले प्रदेशसभा अवरुद्ध गर्ने तयारी गरेपछि सरकारको सक्रियतामा बसेको सर्वदलीय बैठकमा अपुग बजेट थप्ने सहमति बनेको हो ।
त्यतिबेलाको सर्वदलीय बैठकले योजनाको मूल्यांकन र बजेटको आकार निर्धारणका लागि नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वको गठन गरेको कार्यदलले सरकारलाई प्रतिवेदन दिइसकेको छ । तर, सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै विपक्ष दल असन्तुष्ट देखिएका हुन् ।
चालू आवको बजेट बनाउँदा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको थियो । हाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस त्यतिबेला प्रमुख प्रतिपक्षको भूमिका थियो । सरकारले मंगलबार भएको सर्वदलीय बैठकमा सत्तामा हुँदा ल्याएको बजेटमाथि प्रश्न उठाउनू उचित नभएको सन्देशसहित आगामी बजेटमा विगतमा भएका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेशसभा बैठक सञ्चालनमा कुनै वाधा नहुने बताए । सर्वदलीय बैठकमा कुनै सहमति नभएपनि छलफल भएको उनको भनाइ छ । प्रदेश सभा (हाउस) चल्छ की चल्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हाउस अवरुद्ध गर्ने ठाउँमा पुगिसकेका छैनौं ।’ सरकारसँग आफ्ना कुरा राखेर समय दिइएको उनले बताए । ‘समय भित्र उहाँहरुले के गर्नु हुन्छ, त्यसमा फरक पर्छ ।’
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले दलहरुबीच कुनै असहमति भए समाधान गरेर जानुपर्छ भन्ने सभामुखको जोडमा सरकार र विपक्षी दल सकारात्मक भएको बताए ।
हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा लगेर आउने विधेयकहरु प्रस्तुत गरेर प्रदेशसभा नियमित सञ्चालन हुनेछ । प्रदेश प्रमुखले फिर्ता गरेको विधेयकलाई पुनः अगाडि बढाइने छलफल भएको मन्त्री लामिछानेले बताए ।
आगामी दिनमा निर्माण हुने बजेटमा अगाडिदेखि नै गृहकार्य गरेर जाने विषयमा छलफल भएको उनी बताउँछन् । संसद पनि चलाउँदै जाने र बीचमा सहमतिका बिन्दुहरुमा पनि छलफल गरेर अगाडि बढ्नेमा एकमत भएको उनको भनाइ छ ।
‘बजेटको अवस्था के हो ? हाम्रो घाँटी कत्रो छ ? यी सबै कुरा हेरेर काम गर्दै जाने विषयमा सहमति भएको छ ।’ उनले भने । विपक्षी दलले उठाएका विषयमा मुख्यमन्त्री बहादुर सिंह लामाले सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाएको उनले बताए ।
प्रतिक्रिया 4