+
+

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि

सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएकाले उनी आज बयान दिन अदालत पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १०:२३

२३ माघ, चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् ।

उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् ।

जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।

रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा काम सरुवा गरिएको थियो ।

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताएका थिए ।

अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?