
२३ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा रहेको च्यासल खेल मैदान गत असोज बाढीले बगरमा परिणत गरेको छ । तर, ४ महिनाभन्दा बढी समय बितिसक्दासमेत जीर्णोद्धार हुन सकेको छैन।
खेलकुद क्षेत्रका अधिकारीले मैदानको मर्मतसम्भार गर्न तत्काल २ करोड आवश्यक हुने बताएका छन् । च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने, ‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’
च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरकोकार भएकाहरु मौन रहेको उनको आरोप छ ।
खेलकुद परिषद्सँग १० लाख माग गरेको तर हालसम्म निर्णय नभएको उनको भनाइ छ । ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्ने सुनाउँछन् ।
दशरथ रंगशालाको विकल्पका रुपमा परिषद्ले २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।
प्रतिक्रिया 4