+
+

नेपालमा पनि चर्चा बटुलेको नोरा फतेहीको ‘स्नेक’ कस्तो गीत हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १३:५३

काठमाडौं । बलिउड डान्सर एवं गायिका नोरा फतेही र अमेरिकी गायक जेसन डेरुलोको सहकार्यमा बनेको गीत ‘स्नेक’ अहिले विश्वभर भाइरल भइरहेको छ । बलिउड र हलिउडका ठूला कलाकारको सहकार्य भएकाले पनि गीतले निकै चर्चा पाइरहेको छ ।

नेपालमा पनि यो गीतमाथि युट्युव, टिकटक र रिल्स भिडियो बनिरहेका छन् । सर्वसाधारण मात्र होइन, सेलेब्रिटीले समेत गीतमाथि रिल्स बनाइरहेका छन् । प्रियंका कार्की र कविता नेपालीले ‘स्नेक’ गीतमाथि बनाएको रिल्स भिडियो अहिले चर्चामा छ ।

नेपाली टिकटकर्स र फ्यानले पनि प्रियंकाको शैलीलाई पछ्याउँदै ‘स्नेक’ गीतमाथि भिडियो बनाइरहेका छन् । यो गीत जनवरी महिनामा युट्युवमा धेरै हेरिने शीर्ष १० गीतको सूचीमा समेटिएको छ । युट्युवको चार्टबस्टरमा बुधबारसम्म नेपालभित्र धेरै हेरिने सातौं स्थानमा गीत छ ।

भारतमा भने विश्वभरबाट हेरिने गीतको शीर्षस्थानमा यो गीत पर्न सफल भएको छ । गीतको भिडियोमा नोरालाई आधुनिक नागिनको स्टाइलमा देख्न सकिन्छ । नोरा फतेही र जेसन डेरुलो दुवै आफैंमा ठूला कलाकार हुन् । फतेही बलिउडको सबैभन्दा चर्चित डान्सर तथा अभिनेत्रीमध्ये एक हुन्, जसले ‘दिलबर’, ‘ओ साकी साकी’, ‘गर्मी’ जस्ता सुपरहिट गीतमा काम गरिसकेकी छिन् ।

‘स्नेक’ गीतमा प्रस्तुति दिँदै प्रियंका कार्की र कविता नेपाली ।

अर्कोतर्फ, जेसन डेरुलो एक विश्वप्रसिद्ध अमेरिकी गायक हुन्, जसका ‘स्वाला’, ‘टेक यू डान्सिङ’, ‘सैवेज लव’जस्ता गीत विश्वभर हिट छन् । उनीहरूलाई पछ्याउनेको संख्या ठूलो छ, जसले गर्दा ‘स्नेक’ गीतको विश्वब्यापी चर्चा छ ।

यी दुई कलाकारका फ्यान बलिउड र हलिउड दुबैसहित संसारभर फैलिएका छन् । गीत सार्वजनिक हुनासाथ लाखौँ मानिसले सुने र मन पराए, गीतको प्रवद्र्धन पनि योजनाबद्ध तरिकाले गरिएको थियो । जेसन डेरुलोले पनि इन्स्टाग्राम, टिकटक र युट्युबमार्फत गीतको प्रमोसन गरे ।

फतेहीले आफ्नो उत्कृष्ट नृत्य प्रदर्शनसहित गीतलाई प्रचार गरिन् । यसरी सामाजिक सञ्जालमार्फत गरिएको प्रचार–प्रसारले गीतलाई झन् लोकप्रिय बनायो । नेपालमा यो गीत चर्चित हुनुको पछाडि नोराको बलिउड आकर्षण हो । फतेहीका गीत नेपालमा पहिलेदेखि लोकप्रिय छन् । जेसन डेरुलोका अघिल्ला गीत पनि नेपालमा ट्रेन्डिङ भइसकेका छन् । अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता यो गीतमा रमाइरहेका छन् ।

यो गीतको अर्को विशेषता यसको संगीत सिर्जना हो । ‘स्नेक’ले पूर्वीय र पश्चिमी संगीतको मिश्रण प्रस्तुत गरेको छ, जसले सबैखाले श्रोतालाई आकर्षित गरिरहेको छ । मोरक्कोको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोले गीतलाई आकर्षक बनाएको छ । भिडियोमा फतेहीको दमदार नृत्य र जेसन डेरुलोको आकर्षक व्यक्तित्व देख्न सकिन्छ, जसले दर्शकलाई लोभ्याएको छ ।

नेपालमा पनि यो गीतको लोकप्रियता अझै बढ्दै जाने देखिन्छ, किनभने सामाजिक सञ्जालमा यसको प्रभाव कायमै छ । ‘स्नेक’ अहिलेको सबैभन्दा चर्चित गीतमध्ये एक बनेको छ र यसको लोकप्रियता अझै केही समय टिक्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?