+
+

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ८५ प्रतिशत

पछिल्लो तथ्यांक अनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १५:२७
फाइल तस्वीर

२३ माघ, काठमाडौं । काठमाडौं उपत्यका भित्रिने सवारीसाधन सहजीकरणका लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ ।

आयोजनाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

आयोजना निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार आयोजना अन्तर्गत सुरुङ ब्रेक थ्रु भई अन्य काम भइरहेका छन् ।

अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत तीन वटा पुल अन्तर्गत बनिसकेका छन् । अब फ्लाइओभरको काम जारी छ ।

यो फ्लाइओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । टनेलभित्र फिनिसिङको काम जारी छ । जसले गर्दा भौतिक प्रगति ८५ प्रतिशत हाराहारी देखिन्छ ।

त्यस्तै मेन टनेलको ब्रेक थ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेक थ्रु भने ७ अगस्ट २०२३ मा गरिएको थियो ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको थियो । ०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो ।

सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर बनाइएको छ । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो छ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?