
काठमाडौं । विश्व फिल्म र संगीतमा कृत्रिम बौद्धिकता भनिने एआई (आर्टिफिसियल इन्टिलिजेन्स)को चर्चा ब्यापक छ । एआईले भविष्यमा कला क्षेत्रको आयाम र शैली नै परिवर्तन गर्ने भन्दै कतिपय प्रविधिवेत्ता चिन्तित र कोही आशावादी छन् ।
नेपाली फिल्म र संगीत क्षेत्रमा यसका छिटा देखिन थालेका छन् । यसै महिना एक नेपाली युवाले एआईको मद्दतमा बनाएको ‘महाभारत’को ट्रेलरले निकै चर्चा पाएको छ । एआईको मद्दतमा कम लागतमा ‘बाहुबली’ र हलिउडका फिल्म बनाउन सकिने उनको धारणा छ ।
नेपाली फिल्मको एनिमेसन र पोस्टर डिजाइनमा एआईको प्रयोग सुरु भैसकेको छ । एआईको मद्दतमा बनाइएका गीत सामाजिक संजालमा छ्याप्छ्याप्ती देखिन्छन् । गायक स्वप्न सुमनले त आगामी म्युजिक भिडियोमा ‘एआई मोडल’ अभिनेत्री) लन्च गर्ने तयारी गरिरहेका छन् ।
यो पृष्ठभूमिमा, सरकारले मंगलबार ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा सार्वजनिक गरेको छ । यो मस्यौदामाथि आगामी मंगलबारसम्म राय–सुझाव दिन सकिने जनाइएको छ । मस्यौदा संचार तथा सूचना प्रविधि मन्त्रालयको वेब–साइटमा प्रकाशित छ ।
मस्यौदा सार्वजनिक भएसँगै यसले नेपाली फिल्म, संगीतसहितको कला क्षेत्रमा पार्न सक्ने प्रभावबारे विश्लेषण सुरु भएको छ । मस्यौदामा एआईको अवसर र चुनौति उल्लेख छ ।
एआईको उच्चतम प्रयोगमार्फत आर्थिक तथा सामाजिक विकास गर्न सकिने जनाउँदै मस्यौदामा कला, मनोरञ्जन लगायतका क्षेत्रमा उत्पादन तथा उत्पादकत्व वृद्धि र सेवाप्रवाहमा सुधार गर्न सकिने उल्लेख छ ।
कला, मनोरञ्जन लगायतका क्षेत्रमा एआईको प्रयोगमार्फत आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिनेबारेको नीति आवश्यक भएको समेत उल्लेख गरिएको छ । सरकारले एक साताभित्र यसबारे रायसुझाव दिन आग्रह गरेको छ ।
प्रतिक्रिया 4