
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षले नेविसंघमा समानान्तर गतिविधि जारी राखेको छ ।
कोइराला पक्षबाट नेविसंघमा रहेका विद्यार्थी नेताहरुले बुधबार स्ववियु तयारी भेला राखेका छन् । पार्टी नेताहरूलाई बोलाएर स्ववियु निर्वाचन केन्द्रित उपत्यका स्तरीय विद्यार्थी भेला गरिएको हो ।
उक्त भेलामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरे र रञ्जित कर्ण लगायत सहभागी भएका छन् । त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरूबीचमा यस वर्षको स्ववियु निर्वाचन ५ चैतमा गर्ने सहमति भएको छ ।
बुधबार आर आर क्याम्पस प्रदर्शनी मार्ग भएको भेलामा बोल्दै कांग्रेस नेता घिमिरेले गठबन्धन नगरी स्ववियुमा निर्वाचनमा नेविसंघले प्रतिस्पर्धा गर्न सुझाव दिए ।
नेताको चाकरी गरेको नभई उसले गरेको कार्यको आधारमा उम्मेदवार छनोट हुनुपर्ने घिमिरेले बताए । भेलामा कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले कोशीमा सरकार बनाउन आफूले गरेको विद्रोहबारे बताएका थिए ।
उनले भने, ‘मुख्यमन्त्रीहरु पार्टीलाई सुम्पिन खोजेपछि मैले विद्रोह गरेँ । मेरो निर्णय पार्टीको भलाईको लागि थियो । तपाईंहरू स्ववियु तयारीमा जुट्नुस्, संरक्षण हामी गर्छौं । अन्याय हुन दिँदैनौं ।’
कोइराला पक्ष स्ववियु निर्वाचनको तयारीमा जुटेको उक्त समूहका विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए । ‘संगठनमा एकाधिकार लाद्न दिँदैनौं । स्ववियु चुनावमा नेविसंघलाई देशकै ठूलो संगठन बनाउन लाग्छौं,’ उनले भने ।
नेविसंघमा जिल्ला र क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेपछि बढेको विवाद साम्य हुन सकेको छैन ।
संघका अध्यक्ष दुजाङ शेर्पा र कोइराला पक्षको विद्यार्थी नेता प्रेमिका रानामगरले एक अर्कालाई अनुशासनको कारबाही माग गर्दै अनुशासन समितिमा उजुरी दिएका छन् ।
प्रतिक्रिया 4