अहिले विश्वको वार्षिक मृत्युदर मध्ये ७१ प्रतिशतदेखि ७५ प्रतिशत मृत्यु दीर्घरोगका कारणले हुने गर्दछन्। तिनीहरू मध्ये क्यान्सर पनि एक प्रमुख कारण हो ।
एउटा अनुसन्धानको तथ्यांकले पनि सन २०२५ सम्ममा विश्वभर २० लाख नयाँ क्यान्सरका दीर्घरोगी देखिने आँकलन गरेको छ । दीर्घरोगीको मृत्युदर कम-विकसित देशमा अझ बढी हुने गरेको छ। क्यान्सर विश्वको दोस्रो प्रमुख रोग भएता पनि नेपालमा यसबाट हुने मृत्युदर पाचौँ स्थानमा छ।
यो समुदाय स्तरमा स्वास्थ्यको एक प्रमुख समस्या मध्ये पर्दछ। अहिलेको आधुनिक रहनसहन र खानपिनका कारणले प्रत्येक ३ जना व्यक्ति मध्ये एक जनालाई जीवनमा एकचोटी क्यान्सर देखिने प्रवल सम्भावना रहेको छ ।
आखिर के हो त यो प्राणघातक रोग, कसरी लाग्छ ?
हाम्रो शरीरमा कोषको विकासका क्रममा कहिले काँहि अनावस्यक र द्रूतरुपमा कोषहरु गुणात्मक रुपमा बढ्दै जानसक्छन् । समय पुगेपछि नष्ट हुन नसकेर शरीरमै फैलिन थाल्नु क्यान्सर हो।
अन्त्यमा यिनै कोष ट्युमरको रुपमा विकास हुदै जान्छ र सबै शरीरमा फैलिन्छ। आणविक जीव विज्ञानमा जाने हो भने कुनै व्यक्तिमा क्यान्सर देखिनुको कारणहरुमा अणुवंशिक, एपिजेनेटिक र वातावरणीय प्रदूषण मुख्य पर्दछन्।
जिनभित्र जाने हो भने क्यान्सरको नियन्त्रण गर्नका निमित्त तीनवटा जिन चालक हुने गर्दछन्।
१. प्रोटो-अन्कोजिन – जसले कोषको विकास र वृद्धिलाई सामान्य अवस्थामा राख्दछ। यदि यो बढी मात्रामा विकास हुँदै गयो भने क्यान्सरका कोशिकाको रुपमा परिणत हुन्छ।
२. टयुमर-सप्रेसिङ जिन –यसले कोषको विकास र वृद्धिलाई नियन्त्रण गर्दछ।
३. डिएनए रिपेअर जिन– यो जिनले बिग्रेका वा क्षति पुगेको डिएनएलाई उत्परिवर्तन गर्ने काम गर्दछ ।
९० देखि ९५ प्रतिशत क्यान्सर रोग हाम्रो रहनसहन र आनिबानीका कारण हुन जान्छ भने ५ देखि १० प्रतिशत अणुवंशिक दोषका कारणले हुने गर्दछ। तसर्थ यो आँकडाले के देखाउँछ भने यो रोगलाई हाम्रो जीवनशैली परिवर्तनले रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ ।
विभिन्न खोज तथा अनुसन्धानले पनि क्यान्सर रोगको २५ देखि ३० प्रतिशत कारण धुम्रपान, ३० देखि ३५ प्रतिशत गलत खानपान, १५ देखि २० प्रतिशत संक्रमण, १० देखि २० प्रतिशत मोटापना, ४ देखि ६ प्रतिशत मदिरापान र १० देखि १५ प्रतिशत अन्य कारण जस्तै वातावरणीय प्रदूषण र खराब विकिरण हुन भन्ने देखाएको छ।
यदि हामीले प्राथमिक लक्ष्य जस्तै:-ट्युमर बढदै जाने अवस्थालाई बुझेर त्यसलाई बेलैमा उपचार गरेमा वा उपचारका क्रममा देखिने खराब असरलाई न्यून गरेमा वा आफूभित्रको आत्मविश्वास र भरोसालाई कायम राखेमा क्यान्सरको जोखिम कम गर्न सक्छौँ ।
माध्यामिक लक्ष्य जस्तैः- रोग प्रतिरोधात्मक शक्तिलाई बढाएमा, ट्युमरलाई बढावा दिने कामहरु कम गरेमा, मेटास्टेसिस र ट्युमरको विकासलाई रोक्न सकेमा र खराब कोषहरु मर्ने प्रक्रियालाई प्रोत्साहन गर्न सकेमा क्यान्सरको रोकथाम गर्न सक्छौँ ।
खानपान र क्यान्सर
बिग्रिएका र ढुसी परेका खानेकुराहरूमा हानिकारक रसायन जस्तैः-अफ्लाटोक्सिन निस्कने गर्छ। यस्तो खानाको बढी सेवनले क्यान्सरको जोखिमलाई बढावा दिने काम गर्दछ।
उच्च प्रोटिन, कार्बोहाईड्रेट तथा बोसोयुक्त खानेकुराहरू सेकेर, तारेर, पोलेर अनि बढी पकाएर तयार पार्दा हानिकारक रसायनहरु जस्तैः- हेटेरोसाइक्लिक एमाइन्स, एन-नाइट्रोसो कम्पाउन्ड, पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन, पोलिएक्रिलामाइड उत्पन्न हुन्छन् ।
यस्ता रसायनहरुले हाम्रो शरीरका कोशिकाहरुलाई उत्परिवर्तित गर्ने सम्भावना बढेर जान्छ र कालान्तरमा क्यान्सर लाग्न साक्छ। बजारमा पाइने बट्टा बन्द र प्रशोधन गरिएका खानामा यस्ता रसायनका अलावा उच्च मात्रामा क्यालोरी र सोडियम हुने हुँदा यिनीहरूको उपभोगबाट क्यान्सरका कोषहरु मौलाउन पाउँछन् ।
शरीरमा भएको ट्युमर प्रमोटर तथा क्यान्सरका कोषहरुलाई प्रशोधित र अधिक बोसोयुक्त खानाले बढाउँछ र साथसाथै यी खानाले शरीरमा भएको इन्सुलिन, इस्ट्रोजेन, अक्सिडेटिव स्ट्रेस र इनफ्लामेसन (सुजन) लाई पनि बढाउँछ।
अत्याधिक मासुजन्य प्रोटिनयुक्त खानाले इन्सुलिन र आइजिएफ-१ जस्ता हर्मोनलाई बढाउँछ, जसले गर्दा क्यान्सरका कोषहरुलाई बढन मद्दत गर्दछ। अधिक क्यालोरीयुक्त खाना खाँदा पनि इन्सुलिन, आइजिएफ-१, अक्सिडेटिब स्ट्रेस र इनफ्लेमेसनलाई बढाउने गर्दछ।
अतिप्रशोधित तेलजस्तै सूर्यमुखी, भटमास वा मकैको तेलमा अधिक मात्रामा ओमेगा-६ फ्याटी एसिड पाइन्छ । यसले अक्सिडेटिब स्ट्रेस र इनफ्लामेसनलाई बढाउने गर्दछ ।
जसले गर्दा प्रोस्टेट र छातीको क्यान्सर लाग्ने सम्भावना देखिन्छ। नेपालको प्रत्येक भान्छामा प्रशोधित तेलको बढी प्रयोगले गर्दा पनि नेपालीमा पुरुषलाई प्रोस्टेट तथा माहिलामा छातीको क्यान्सर लाग्ने सम्भावना उच्च छ । तथ्यांकले पनि यही देखाएको छ।
क्यान्सर लागेमा वा लाग्न नदिन कस्ता खानेकुरा खाने ?
क्यान्सर लाग्न नदिन वा लागिसकेको खण्डमा यसलाई नियन्त्रण गर्न काँचै खान मिल्ने सलाद र फलफूलको मुख्य भूमिका हुन्छ। यिनीहरूले हाम्रो शरीरमा प्राकृतिक रुपमा नाइट्रिक अक्साइडको निस्कासन गर्दछन् ।
जसले क्यान्सर कोषहरूलाई शरीरमा फैलिनबाट रोक्न भूमिका खेल्छ । यो कुरा सन् १९९८ मा तीनजना अमेरिकन् वैज्ञानिकहरूले पत्ता लगाएका थिए जसका लागि उनीहरुले नोबेल पुरस्कार पनि पाएका थिए।
साथै यस्ता काँचै खान मिल्ने तरकारी तथा फलफूलले हाम्रो रक्तनलीहरूलाई चौडा बनाई रक्तचाप नियन्त्रण पनि गर्दछ।
अर्को रोचक खोजले के देखाएको छ भने, यस्ता काँचै खानमिल्ने तरकारी र फलफूलले क्यान्सरलगायत मधुमेह, एथेरोस्कलेरोसिस्, हृदयाघात, अल्जाइमर जस्ता रोगहरुलाई रोकथाम गर्न पनि मद्दत गर्दछ।
प्रायस: सबैखाले फलफूल र काँचो तरकारीहरूमा न्यूक्लियर फ्याक्टर-कप्पाबी (एनएफ-केबी) को सक्रियतालाई रोक्न सक्ने इन्जाइम हुने गर्दछ।
त्यस्तैगरी यस्ता फलफूल तथा तरकारीहरुमा ट्युमर प्रोमोटरहरुलाई रोक्न सक्ने रसायन पनि हुन्छ, जस्तै फोलिक एसिड, जसले डिएनएलाई बिग्रन दिँदैन।
साथसाथै यिनीहरूमा एन्टिअक्सिडेन्ट, अक्सिडेटिभ र लिपिड पेरोअक्सिडेसनलाई रोक्न सक्ने शक्ति पनि हुन्छ । विभिन्न फाइट्रोन्युट्रिएन्टहरू पनि प्रशस्त मात्रामा हुने हुनाले क्यान्सरको जोखिमबाट बचाँउछ।
फलफूलमा भएका गाढा रातो, पँहेलो, हरियो, बैजनी आदि रङहरुको पनि क्यान्सरसँग लड्न सक्ने क्षमता भएकाले पनि यसको सेवनले हामीलाई क्यान्सर हुँदैन र भएपनि ठिक पार्छ।
आजकल फलफूल तथा तरकारीमा किटनाशक विषादीको बढ्दो प्रयोगका कारण यस्ता खानेकुराहरुलाई बेकिङ सोडामा १५ मिनेट डुबाएर, धोएर, ताछेर वा फ्रिजिङ् गरेर मात्र सेवन गर्दा उपयुक्त हुन्छ।
फलफूल खाने उपयुक्त समय बिहान हो र त्यसपछि अन्न/खाना ग्रहण गर्नुअगाडि सलाद खाँदा हाम्रो शरिरलाई फाइदा हुन्छ। काँचो खानेकुरा खानापछि खाँदा यो गएर पेटमा धेरै समय रहने सम्भावना हुन्छ अनि अन्त्यमा पच्नुअगाडि नै यसको पोषण नष्ट भएर जान्छ।
सम्भव भए सम्म हामीले दीर्घजीवनका लागि दिनमा कम्तिमा सकेसम्म ५ प्रकारका मौसमी फलफूल तथा ४ प्रकारका काँचै खान मिल्ने सलादको प्रयोग गर्नु पर्दछ ।
यसका साथसाथै १६ घण्टे उपबासको पनि क्यान्सर रोकथाम र नियन्त्रणमा मुख्य भूमिका छ।
जापानका कोशिका जीव विज्ञानका वैज्ञानिक योशिनोरी ओसुमिले अटोफ्यागी नामको सिद्दान्तमा आधारित रहेर हाम्रो कोशिकाले काम गर्ने कुरा प्रष्ट्याएका छन् ।
यस अटोफ्यागी सिद्दान्तका अनुसार यदि हाम्रो शरीर १६ घण्टा वा बढी समय खाली भयो भने वा हामीलाई भोक लागेका बेलामा खाना खाइएन भने हाम्रो शरीरका कोशिकाहरूले प्रोटिन र अन्य मरेका तन्तु तथा क्यान्सरका कोशिकाहारुलाई उर्जाको रुपमा प्रयोग गर्छ।
यो अटोफ्यगीको समयमा हाम्रो शरीरका कोशिकाहरुले हामीलाई नचाहिने ब्याक्टेरिया, भाइरस, टयुमर उत्पन्न गराउने तत्वहरुलाई नष्ट गर्दिन्छ र हामीहरू स्वस्थ भएर लामो आयु बाँच्न सक्छौँ । जसका लागि उनले चिकित्सा विधामा सन् २०१६ मा नोबेल पुरस्कार हात पारेका थिए ।
त्यसैले पनि असल खानपान र १६ घण्टे उपवास क्यान्सर तथा अन्य दीर्घरोगको रोकथाम तथा नियन्त्रणका लागि उपयुक्त देखिएको छ। यसका साथसाथै शारीरिक व्यायम, ध्यान र सकारात्मक सोचको पनि सम्पूर्ण रोगहरु रोकथाममा मुख्य भूमिका रहन्छ ।
प्याकेजिङ् तथा र प्रशोधन गरिएका खानाको सकेसम्म प्रयोग गर्नुहुँदैन।
असल खानपानबाट क्यान्सर रोगबाट बच्न र लागेको अवस्थामा नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा कुनै प्रकारको जिज्ञासा भएमा पोषणविद् तथा चिकित्सकहरूसँग सल्लाह गरेर अगाडि बढन पनि सकिन्छ ।
अन्त्यमा, हामी सबै मिलेर क्यान्सर जस्तो रोगसँग बच्न र लड्नका लागि आवश्यक कदम चाल्नुको विकल्प छैन।
प्रतिक्रिया 4