+
+

अध्यादेशमा सत्ता र प्रतिपक्ष दुवैले खोजे उपेन्द्रको साथ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १८:०४

२२ माघ, काठमाडौं । विपक्षी दलहरूले अध्यादेश अस्वीकृत गर्न उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)को साथ खोजेका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार जसपा नेपालको नेतृत्वसँग अनौपचारिक छलफल चलिरहेको छ ।

‘जसपा नेपालका नेतृत्व लगायतसँग कुरा भइरहेका छन् । छलफल भएकै छ । छलफल विभिन्न तहबाट भइरहेकै छ । ठ्याक्कै निर्णय आइसकेको छैन,’ पाण्डेले अनलाइनखबरसँग भने ।

आफूले निर्णय दिन भनेको उनले बताए । पाण्डेले दोहोर्‍याएका छन्, ‘ठ्याक्कै निर्णय आइसकेको छैन ।’

जसपा नेपाल भने सत्तापक्ष र प्रतिपक्ष दुवैतिर संवादमा छ । राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशको विषयवस्तु समेत अध्ययन गरिरहेको छ ।

जसपा नेपालले बिहीबार बिहान संसदीय दलको बैठक राखेको छ । उक्त बैठकबाट अध्यादेशमा पार्टीको धारणा तय गरिने नेताहरू बताउँछन् ।

बिहीबार नै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधि सभामा सत्तापक्षसँग प्रष्ट बहुमत छ । तर, राष्ट्रिय सभामा सत्तापक्षसँग प्रष्ट बहुमत छैन ।

राष्ट्रिय सभामा जसपा नेपालका तीन जना सांसद छन् । उनीहरूले जता मत दिए उतै बहुमत पुग्नसक्ने सम्भावना छ । त्यसकारण सत्तापक्ष र प्रतिपक्ष दुवै जसपा नेपालका नेताहरूसँग संवादमा छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर सत्तापक्षतर्फ २७ जना सांसद छन् । मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनित सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिँदा २९ पुग्छ ।

विपक्षमा पनि उस्तै मत छ । माओवादी केन्द्र (१७), नेकपा एकीकृत समाजवादी (८) र राष्ट्रिय जनमोर्चा (१) गरेर २६ जना सांसद विपक्षी मोर्चामा छन् ।

अध्यादेश अस्वीकृत गर्नुपर्ने कारणसहित आवश्यक संख्या पुर्‍याउने प्रयासमा रहेको बताउँछन् एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष, बेदुराम भुसाल । संवाद निष्कर्ष उन्मुख रहेको भुसालले मंगलबार नै बताएका थिए ।

भुसालले भनेका छन्, ‘अध्यादेशबारे जसपा नेपालका नेताहरूसँग कुरा भइराखेको छ । उहाँहरू पनि छलफलमै हुनुहुन्छ ।’

राष्ट्रिय सभामा रहेको संसदीय अंकगणितका कारण अध्यादेशमा सत्तापक्ष र प्रतिपक्ष दुवैले उपेन्द्र यादवको साथ खोज्नु स्वभाविक हो ।

तर, अध्यादेश स्वीकृतकै पक्षमा आवश्यक संख्या पुग्ने विश्वास गर्छन्, राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौला । ‘आवश्यक संख्या पुग्छ र अध्यादेश स्वीकृत भएर प्रतिस्थापन विधेयक आउने बाटो खुल्छ,’ सिटौला भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?