
२३ माघ, काठमाडौं । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने भएका छन् ।
बुधबार सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा बसेको बुधबार प्रमुख दलका प्रमुख सचेतक र सचेतकरूसँगको छलफलमा यस्तो सहमति भएको हो ।
छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि थिए । छलफलपछि कानुनमन्त्री चौरसियाले पत्रकारहरूसँग कुरा गर्दै अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाइ ५ मिनेट र समर्थकलाई ३ मिनेट बोल्न दिने तय भएको जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।
२९ पुसमा थप चारवटा अध्यादेश जारी भएको थियो भने २ माघमा राष्ट्रपतिले अर्को एउटा अध्यादेश जारी गरेका थिए । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।
६ वटा अध्यादेशउपर प्रतिनिधिसभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् ।
बिहीबार प्रतिनिधिसभामा सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिँदैछ । निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ ।
मन्त्री चारसियाका अनुसार बिहीबार नै सभाले अध्यादेश स्वीकृत वा अस्वीकृत गर्ने निर्णय गर्नेछ ।
प्रतिक्रिया 4