
२३ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड देशले परिचालन गर्ने राजस्व क्षमतामा निर्भर हुने बताएका छन् ।
उनले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था निर्माणमा आन्तरिक सोतको दक्ष र प्रभावकारी परिचालनको महत्त्वपूर्ण भूमिका रहने बताए ।
राजस्व अनुसन्धान विभागको आयोजना तथा महासंघको समन्वयमा मंगलबार महासंघ सचिवालयमा आयोजित राजस्व चुहावट नियन्त्रण र भीसीटीएस सम्बन्धी अन्तक्र्रियामा अध्यक्ष ढकालले अपेक्षित राजस्व संकलन हुन उद्योग व्यवसायमैत्री वातावरण आवश्यक रहेको बताए ।
‘कतिपय अवस्थामा वैध व्यवसाय गर्ने पनि नियमनकारी निकायका अनुगमनका नाममा अनावश्यक झमेलामा पर्ने गरेको आवाज व्यवसायीबाट आउने गरेको छ,’ ढकालले भने, ‘यसले व्यवसायीको अतिरिक्त समय र आर्थिक भार बढ्न गई व्यवसाय महँगो हुने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने गरेको छ । यसतर्फ पनि विभागको समुचित ध्यान जाओस् ।’
उनले अर्थतन्त्र चलायमान भई बजारमा माग बढ्दा आर्थिक गतिविधि बढ्ने, उत्पादन तथा व्यवसायमा सुधार आउने र राजस्व संकलन पनि बढ्ने बताए ।
अध्यादेशबाट यस विभागको कार्यक्षेत्र भित्र पर्ने राजस्व चुहावट ऐन २०५२ का केही प्रावधान संशोधन भएको र संशोधनमा समेटिएका मूलतः मुद्दा दायर गर्ने बिगोको सीमा ५० लाखबाट ३ करोड बनाइएको, मुद्दा दायर हुनु अगाडि सम्बन्धित व्यक्तिले बिगो र सो बमोजिमको जरिबाना बुझाउन चाहे मुद्दा नचलाउने निर्णय गर्न सक्ने, मुद्दा दायरपछि पनि मिलापत्र र मुद्दा फिर्ता लिन सक्ने संशोधित प्रावधानले व्यावसायिक वातावरण निर्माण गर्न थप सहयोग पुग्ने उनको भनाइ छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले सरकार र निजी क्षेत्र दुवैको उद्देश्य वैध व्यापार प्रोत्साहन गरी अवैध र अनौपचारिक व्यापार नियन्त्रण गर्ने भएको बताए ।
उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै त्यो कार्य सम्भव रहेको बताए । विभागको उद्देश्य कसैलाई दुःख दिने नभई नियमन र सहजीकरण भएको उल्लेख गर्दै उनले विद्यमान नीति–नियमबारे व्यवसायीमा अन्योल भए सहजीकरण गर्न तयार रहेको बताए ।
प्रतिक्रिया 4