+
+

ग्यास सिलिन्डरको म्याद गुज्रिने मिति कसरी चिन्ने ?

उपभोक्ताले ग्यास सिलिन्डर खरिद दर्ता त्यसको प्रयोग गर्न मिल्ने म्याद पनि ख्याल गर्नुपर्ने हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते २२:३०
एलपी ग्याँस सिलिण्डर असुरक्षित रुपमा ढुवानी गरिंदै ।

२४ माघ, काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट खतरनाक हुन्छ । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुने र कहिलेकाहीँ विस्फोट नै भएर जनधनको क्षति भएका घटनाहरु बेलाबेला सार्वजनिक भइरहन्छन् ।

आज बिहान मात्रै काठमाडौंको कमलपोखरीस्थित सानदार मोमो पसलको भान्छा कोठामा ग्यास सिलिन्डर पड्किँदा १४ जना घाइते भए । तीन जनालाई उपचार गर्न अस्पताल लैजानुनपर्ने खालको सामान्य घाइते भए पनि ११ जनालाई अस्पताल नै लग्नुपरेको छ ।

त्यसैले ग्यास सिलिन्डर सुविधाको दृष्टिले सजिलो भए पनि प्रयोगमा असावधानी अपनाउँदा यो खतरनाक पनि हुने गरेको छ । त्यसैले यसबाट हुने क्षतिको हिसाबलाई हेरेर कतिपयले ग्यास सिलिण्डरलाई ‘भान्छाको बम’ को संज्ञा पनि दिने गरेका छन् ।

एकातिर असुरक्षित ग्यास सिलिन्डरबारे उपभोक्ता सचेत हुन सकेका छैनन् भने जोखिमयुक्त ग्यास सिलिन्डर बजारमा पुग्नबाट नियन्त्रण गर्न पनि सरकारले सकिरहेको छैन । त्यसैले उपभोक्ता आफैं पनि ग्यास सिलिन्डरको जोखिम बुझ्न र घातक बिष्फोटबाट बच्न आफैं सजग हुनु आवश्यक देखिएको छ ।

उपभोक्ताले ग्यास सिलिन्डर खरिद दर्ता त्यसको प्रयोग गर्न मिल्ने म्याद (एक्स्पायर्ड डेट) पनि ख्याल गर्नुपर्ने हुन्छ ।

कसरी हेर्ने सिलिन्डरको म्याद गुज्रिने मिति ?

सिलिन्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् ।

जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २० लगायतका अंक लेखिएका हुन्छन् ।

ती अंकले वर्षलाई बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।

‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ । यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ । यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ ।

माथिको तस्वीरको सिलिन्डरमा ए–२३ लेखिएको छ । त्यो सिलिन्डरको म्याद सन् २०२३ को मार्च महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ ।

यस्तै एक्सपायर्ड डेट बाँकी रहे पनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।

स्मरणीय के छ भने अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।

उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् । त्यसपछि ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यसैका कारण नेपाली बजारमा २० वर्षभन्दा लामो आयु काटेका लाखौं सिलिन्डर छन् । नेपालका धेरै ग्यास उद्योगले २० वर्षभन्दा पुराना सिलिन्डर त प्रयोग गरिरहेकै छन् नै, ५/५ वर्षमा गर्नुपर्ने हाइड्रोलिक टेष्ट पनि नगरेका हुनसक्ने अनुमान छ ।

उपभोक्ता सजग नभएको र सरकारको अनुगमन फितलो भएको फाइदा उठाउँदै उद्योगहरुले म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भर्दै बजारमा पठाइरहेका छन् ।

भारतीय नाकाबन्दीका बेलामा धादिङका उद्योगहरुमा तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुन आफैं पुगेर अनुगमन गर्दा यस्ता म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको भेटिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?