+
+

मकुनालाई निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेको घटनामा संरक्षणकर्मीको विरोध

निकुञ्ज भन्छ- भवितव्य हो

सुवास पण्डित सुवास पण्डित
२०८१ माघ २४ गते १२:४२

२४ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र नजिकका वरपरका सामुदायिक वनमा देखिने जंगली हात्ती मकुनालाई गोली लागेर मृत्यु भएको घटनामा संरक्षणकर्मीहरूले विरोध जनाएका छन् ।

उनीहरूले मकुनालाई निकुञ्जको कोर क्षेत्रमा पठाउने नाममा गोली हानेर मार्नु गलत भएको जिकिर गरेका छन् ।

जंगली भाले हात्तीकै कारण निकुञ्जको हात्ती प्रजनन् केन्द्रका पोथी हात्तीहरू गर्भिणी हुने गरेको तथ्य हुँदाहुँदै यस्तो घटना घटेकोमा संरक्षणकर्मीहरूको आपत्ति छ ।

निकुञ्जको पूर्वी सेक्टर तथा पूर्वका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गत साउनदेखि देखिन थालेको मकुना (दाह्रा नभएको भाले) हात्तीलाई निकुञ्जको सुरक्षार्थ भन्दै खटिएको नेपाली सेनाकै गोली लागेर बुधबार दिउँसो मृत्यु भएको थियो ।

गोली हात्तीको घाँटीमा लागेको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा नेपाली सेनाको संयुक्त टोलीमाथि मकुना जाइलागेपछि गोली प्रहार गरिएको दाबी गरेको छ ।

सो हात्तीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रबाट निकुञ्जको कोर क्षेत्रमा पठाउने क्रममा सो घटना भएको निकुञ्जले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निकुञ्जले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड हवाई फायर गरिएको र सो पछि झनै उत्तेजित भई सानो हात्ती खगेन्द्रप्रसादमाथि आक्रमण गरेको उल्लेख छ ।

खगेन्द्रप्रसादमा बसेका रेन्जर श्याम तामाङ लडेको निकुञ्जको दाबी छ । दाह्रा नभएको मकुना जिस्काएपछि अरुभन्दा बढी आक्रामक हुने हात्ती हो ।

सो अप्रत्यासित घटना भएपछि सेनाले ३ राउण्ड गोली हानेको र हात्ती झनै आक्रामक बनेपछि अर्को एक राउण्ड गोली हात्तीको घाँटीमा लागेको निकुञ्जको भनाइ छ । सो गोली लागेपछि १ किलोमिटर पर गएर मकुना मरेको अवस्थामा भेटिएको थियो ।

मकुना हात्तीलाई गोली हानेर मानुपर्ने अवस्था आउनुमा निकुञ्जको व्यवस्थापकीय कमजोरी भएको निकुञ्जका एक पूर्व संरक्षण अधिकृत कमलजंग कुँवर बताउँछन् ।

‘भाले जंगली हात्ती सेनाबाट मारिनु गलत भयो, हात्तीलाई निकुञ्ज पठाउँछु भनेर धपाउनु हेर्दा राम्रो कुरा देखिए पनि सारमा त्यो उपलब्धिमूलक हुँदैन,’ कुँवरले अनलाइनखबरसँग भने, ‘जंगली हात्ती दिनमा १४५ किलोमिटर हिँड्छ, भित्र धपाए पनि आइहाल्छ, हात्ती किन बस्तीमा आयो भन्ने कारण खोज्नुपर्छ ।’

गत साउनदेखि सौराहा क्षेत्रमा देखिन थालेको यो मकुना हात्ती महोत्सवको समापनको दिनमा महोत्सवस्थल बाघमारा सामुदायिक वनको चौरमा नै आएको थियो ।

सौराहाका व्यवसायीले पालेका पोथी हात्तीसँग संशर्ग गर्न सो हात्ती सौराहा क्षेत्रमा केन्द्रित भएको देखिन्छ । निकुञ्जको हात्ती प्रजनन् केन्द्र सौराहामा जंगली रोनाल्डोले नछाड्ने भएकोले अरु हात्तीहरु घरपालुवातिर जाने गरेका छन् ।

निकुञ्जमा गोविन्दे, ध्रुव्रे, रोनाल्डो, मकुना लगायतका जंगली हात्ती छन् । ती हात्तीहरूले सरकारी पोथी हात्तीसँग प्रजनन् गर्छन् ।

‘एकातिर पोथी हात्ती पालेर राख्ने, जंगली हात्तीबाट प्रजनन् गराउने, अनि अर्कोतिर भाले हात्ती आयो भनेर हुन्छ,’ पूर्व संरक्षण अधिकृत कुँवरले भने, ‘सौराहाका हात्ती तिनै भाले हात्तीले प्रजनन् गरेर बच्चा जन्माउँदा खुसी हुने, लाखौंको हात्तीको बच्चा दिँदा रमाउने, अनि जंगली हात्ती आयो भनेर हल्लाखल्ला गर्ने सौराहाका व्यवासायीको व्यवहारमा पनि समस्या देखेँ ।’

उनले जंगली हात्ती मकुनालाई घाँटीमा गोली हान्नु सर्वथा गलत भएको बताए । हात्तीको घाँटी अरु जनावरको जस्तो नभइ अति संवेदनशील हुने कुँवरको भनाइ छ ।

प्रमुख संरक्षण अधिकृत गणेश पन्तले सौराहाको बजार क्षेत्र र अन्य बस्तीमा पसेर स्थानीय बासिन्दालाई त्रसित बनाउन थालेपछि मकुनालाई केही धपाउन खोज्दा भवितब्य भएर घटना भएको बताए ।

मार्ने भन्ने नियत र उद्देश्य निकुञ्जको नभएको उनको दावी छ । मकुनाले ध्रुवे,रोनाल्डो, गोविन्दले जस्तो अहिलेसम्म कुनै पनि मानवीय क्षति गरेको थिएन । सौराहा क्षेत्रमा यो देखिए पनि स्थानीयले यसलाई लखेट्दै आएका थिए । ’हात्तीलाई लखेटेको जिस्काएको पनि भिडियो हामीले देखेका थियौं, त्यस्तो एग्रेसिभ भएको जस्तो त लाग्दैन,’ निकुञ्जका अर्का एक पूर्व संरक्षण अधिकृतले भने, ’गोली हान्ने परिस्थिती हो जस्तो लाग्दैन, जंगली हात्तीलाई धपाउन जाँदा सानो बच्चा हात्ती लिएर जाने आक्रमण गर्यो भनेर गोली हान्न मिल्छ, यो त केटकेटी पारा भएन र ? ’

उनले जंगली हात्ती किन बस्तीमा आए भन्ने कुराको खोजी गरेर समाधान र व्यवस्थापन गर्नुपर्नेमा समस्या भयो भन्दैमा मास्नु गलत भएको टिप्पणी गरे । ’गोली हानेर मारिदिएपछि सेना, स्थानीय, निकुञ्ज सबैलाई आनन्द भयो, सधैं राती गस्ती जान पनि परेन, जनताको फोन पनि आउने भएन, ति पूर्व संरक्षण अधिकृतले भने, ’ध्रुव्रेले त्यतिधेरै मान्छे मार्दा, सरकारले मार्ने निर्णय गर्दा पनि बचाएको हैन, अनि मकुनाले न मान्छे मारेको थियो, त्यस्तो कुनै विध्वश गरेको थियो, पोथी हात्ती पाले पनि भाले हात्ती आउँछ भन्ने त थाहै थियो नी ।’

पूर्वबाट आएको मकुना हात्ती मारिए पनि चितवन राष्ट्रिय निकुञ्जमा भाले हात्तीको संख्यामा कमी हुने र त्यसले दीर्घकालमा हात्ती प्रजनन् समस्या हुन सक्नेतर्फ पनि सचेत बन्नुपर्ने उनको धारणा छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?