+

पाठेघरको मुखको क्यान्सर गराउने भाइरसविरुद्ध खोपबारे भ्रम र सत्य

२०८१ माघ  २४ गते १३:५५ २०८१ माघ २४ गते १३:५५

कतिपयलाई यो खोप परीक्षणका लागि मात्रै नेपालमा आएको होकि भन्ने पनि लाग्नसक्छ

पाठेघरको मुखको क्यान्सर गराउने भाइरसविरुद्ध खोपबारे भ्रम र सत्य

अहिले देशभर पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलाेमा भाइरस (एचपीभी) विरुद्ध खोप अभियान चलिरहेको छ । माघ २२ बाट सुरु भएको यो अभियान फागुन १६ गतेसम्म चल्नेछ।

विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म पढ्दै गरेका किशोरीहरूलाई खोप दिइँदैछ। विद्यालयबाहिर रहेका ९ देखि १४ वर्षका किशोरीले पनि यो खोप पाउँदैछन् ।

यसैबीच कतिपयमा सो खोप नि :शुल्क पाउँदा उत्साह छ भने कतिपयमा अन्यौलता पनि देखिन्छ।

अन्यौलता के कुरामा भने खोप लगाउँदा साइड इफेक्ट पो हुन्छ कि ? कतै यो मानव ट्रायलका लागि मात्रै आएको त होइन ? यस्तो खोपले स्वास्थ्यलाई सुरक्षा होइन, झन् बढी बिगार्छ भन्ने भ्रम पनि छ । कतिपयलाई यो खोप किन दिइँदैछ भन्ने पनि पत्तो छैन ।

यस्तै, एचपीभी र यसविरुद्धको खोपबारे केही भ्रम जनमानसमा फैलिरहेको छ । जसको चिरफार हुन आवश्यक छ।

भ्रम : एचपीभीजन्य क्यान्सर दुर्लभ हो ।

सत्य : एचपीभीजन्य क्यान्सर कदापी दुर्लभ हाेइन । यौनजन्य संक्रमण गराई पाठेघरको मुखमा क्यान्सर गराउन सक्ने भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) हो । पाठेघरकाे मुखको क्यान्सर अहिले विश्वभर नै महिलामा हुने क्यान्सरको प्रमुख कारण बनिरहेको छ । एचपीभी भाइरसको प्रजाति मात्र सयभन्दा बढी छन् । ती मध्ये सबैले क्यान्सर नै गराउँछ भन्ने छैन ।

भ्रम : एचपीभी हावाबाट पनि सर्न सक्छ।

सत्य : एचपीभी भाइरस हावाको माध्यमबाट सर्दैन । यो त संक्रमित छाला र मुख, मलद्धार, पाठेघरको मुख र लिंगको सम्पर्कबाट सर्न सक्छ । यौनमा सक्रिय व्यक्तिमा संक्रमणको जोखिम रहन्छ ।

भ्रम : एचपीभीको एउटा प्रजातिले मात्र क्यान्सर गराउँछ ।

सत्य : एचपीभी भाइरसलाई दुईवटा उपसमूहमा वर्गीकरण गरिएको छ । एउटा कम जोखिमपूर्ण भएको (प्रजनन् अंगसँग सम्बन्धित) र उच्च जोखिममा रहेको उपसमूह (पाठेघरकाे मुखको घाउ र क्यान्सरसँग सम्बन्धित)।

प्रजाति ६ र प्रजाति ११ प्रजनन् याैनाङ्गकाे मुसासँग सम्बन्धित छन्, जबकि प्रजाति १, १८, ३१, ३३, ४५, ५२ र ५८ पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित छन्।

सामान्यतया, हाम्रो शरीरले एचपीपी भाइरस सम्पर्कमा आउनेबित्तिकै आफैँ मार्छ । कतिपय भने यौन संक्रमणले गर्दा योनी हुँदै पाठेघरसम्म पुग्छ । त्यसो त एचपीभी संक्रमण सजिलै पहिचान गर्न सकिन्छ ।

सामान्यतया यसको संक्रमण हुँदा तीन सातादेखि आठ सातासम्म यामुसाजस्तो देखापर्छ । केहीमा भने संक्रमण भएको नभएको लक्षण नदेखिन पनि सक्छ । यस्तोमा कतिपयले योनांगमा मुसा आएपछि प्याप स्मेयर परीक्षण गर्नुपर्छ । जसबाट पनि संक्रमणले क्यान्सर गराएको नगराएको पत्ता लाग्छ ।

भ्रम : एचपीभीको संक्रमण पहिला नै भइसक्यो भने उनीहरुमा यसविरुद्ध खोप लगाएमा कुनै काम गर्दैन ।

सत्य : गार्डासिल भन्ने एचपीभीविरुद्ध खोपले एचपीभीको ९ वटा प्रजातिविरुद्ध काम गर्छ । पहिला यो खोपले यौन जीवनमा सक्रियता नभएका बालिकाको लागि प्रभावकारी भनिएको पाइन्थ्यो । तर, अहिले, फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले भने २७ देखि ४५ वर्ष उमेर समूहमा पनि प्रभावकारी देखिएको जनाउँछ ।

यदि पहिला एचपीभीको एउटा स्वरुपले संक्रमण गरेको छ भने पनि यो खोप लिएमा अरु आठ वटा एचपीभीको प्रजातिबाट बचाउँछ ।

भ्रम : एचपीभी खोप लगाइसकेपछि पाठेघर संक्रमण पत्ता लगाउने परीक्षण आवश्यक पर्दैन ।

सत्य : एचपीभीविरुद्ध खोप लगाएपछि पनि महिलाहरूले नियमित प्याप स्मियर परीक्षण गरिरहनु आवश्यक छ।

खोपले उच्च–जोखिमयुक्त एचपीभी प्रजातिहरूबाट रक्षा गर्छ । तर सबै प्रकारका संक्रमण वा गर्भाशयको क्यान्सरको जोखिम पूर्ण रूपमा हटाउँदैन। त्यसैले, समय–समयमा स्क्रिनिङ गराउनु महत्वपूर्ण छ।

भ्रम : एचपीभी खोप केवल किशोरीका लागि मात्र हो ।

सत्य : एचपीभी खोप केवल किशोरीहरूका लागि मात्र होइन । यो किशोर तथा वयस्क पुरुषहरूका लागि पनि आवश्यक छ । एचपीभी संक्रमणले पुरुषहरूको याैनांगमा क्यान्सर निम्त्याउन सक्छ। त्यसैले, केटा र केटी दुवैले एचपीभी खोप लगाउनु महत्वपूर्ण छ।

भ्रम : एचपीभी खोप परीक्षण गर्नका लागि नेपालमा आएको हो । यसले फाइदा कम नोक्सान बढी गर्छ ।

सत्य : सो भनाइमा कुनै सत्यता छैन । एचपीभी खोप केवल मानव परीक्षणका लागि आएको होइन। यो वैज्ञानिक रूपमा प्रभावकारी प्रमाणित भइसकेको छ।

एचपीभी खोपले उच्च–जोखिमयुक्त एचपीभी संक्रमणलाई रोक्न मद्दत गर्छ । पाठेघरको मुखको क्यान्सर एवं अन्य एचपीभीजन्य क्यान्सरको जोखिम कम गर्छ। यो खोपको प्रभावकारिता शतप्रतिशत छ । जसले लाखौं मानिसको जीवन बचाउन सक्छ ।

त्यसैले, यो खोप अरुको कुरा नसुनी उपलब्ध भएसम्म लगाउनु उपयुक्त हुन्छ ।

भ्रम : यौन जीवनमा सक्रिय छैन भने खोप नलगाउँदा पनि हुन्छ । एचपीभी संक्रमणको जोखिम रहँदैन ।
सत्य : यौन जीवनमा सक्रिय छैन भने पनि एचपीभी खोप आवश्यक छ। एचपीभी कुनै पनि समयमा सर्न सक्ने भाइरस हो, जुन यौन सम्पर्कबाहेक पनि छालाको सम्पर्क वा अन्य तरिकाबाट सर्न सक्छ।

साथै, खोपले भविष्यमा हुनसक्ने संक्रमणबाट सुरक्षा दिन्छ, त्यसैले यौन सक्रिय हुनु पहिले वा भइसकेपछि सक्दो चाँडो खोप लगाउनु राम्रो हुन्छ।

भ्रम : ३० वर्ष नाघेका यौन जीवनमा सक्रिय भएकाहरुले यो खोप लगाउन मिल्दैन ।

सत्य : ३० वर्ष नाघेका वा पहिले नै यौनजीवनमा सक्रिय भएका महिलाहरूले पनि एचपीभी खोप लगाएमा फाइदा पुग्छ। खोपले नयाँ एचपीभी संक्रमणबाट जोगाउने काम गर्छ।
केही अवस्थामा शरीरमा भएका एचपीभी संक्रमणको प्रभाव कम गर्न पनि मद्दत गर्न सक्छ। त्यसैले, विशेषगरी २६ देखि ४५ वर्षसम्मका व्यक्तिहरूले चिकित्सकसँग परामर्श गरी खोप लगाउन सक्छन्।

भ्रम : एचपीभी खोपले नि:सन्तानपनको जोखिम गराउँछ।

सत्य : यो मात्र एउटा भ्रम हो। एचपीभी खोपले कुनै प्रकारको नि:सन्तानपनको समस्या ल्याउँदैन।

भ्रम : एचपीभी भाइरस शरीरमा प्रवेश गर्ने बित्तिकै क्यान्सर लाग्छ।

सत्य : एचपीभी भाइरस शरीरमा प्रवेश गर्नेबित्तिकै क्यान्सर लाग्दैन। एचपीभी भाइरस प्रवेश भई लामो समयसम्म रहेर संक्रमण याैनांगमा रहिरह्यो भने भविष्यमा क्यान्सर हुने डर रहन्छ ।

एचपीभी खोप
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय