
२४ माघ, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै आन्दोलन गर्दा पक्राउ परेकाहरू रिहा भएका छन् । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका तीन जना धरौटीमा रिहा भएका हुन् ।
प्रदीप मादेन १० हजार तथा लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।
गत १२ माघमा पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै विरोध भएको थियो ।
विरोध प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा तीन जना गम्भीर घाइते भएका थिए । त्यसको विरोधमा आन्दोलनरत पक्षले अरुण पूर्वका नौ जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरेका थिए ।
गृह मन्त्रालयको टोलीसँग २२ माघमा भएको वार्तामा केबुलकार निर्माण र आन्दोलन स्थगित गर्ने तथा पक्राउ परेकाहरूलाई रिहा गर्ने लगायत ६ बुँदे सहमति भएको थियो । सोही सहमति अनुसार नै पक्राउ परेकाहरूलाई छोडिएको प्रहरीले जनाएको छ ।
‘नो केबुलकार समूह’ ले २१ माघमा काठमाडौंको माइतीघरमा गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन समेत गरेको थियो ।
२१ माघमा सरकारले उक्त समूहसँग वार्ता गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो भने सोही दिन नो केबुलकार समूहले पनि प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता समिति बनाएको थियो।
प्रतिक्रिया 4