+
+

नेपाल-भारत रंग महोत्सव नाचघरमा सुरु, कुन नाटक मंचन हुँदैछन् ?

रासस रासस
२०८१ माघ २४ गते १४:४५

काठमाडौँ । बुधबारदेखि नेपाल-भारत रङ्ग महोत्सव सुरु भएको छ । राष्ट्रिय नाचघरमा सुरु महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गरेको महोत्सव उद्घाटन समारोहमा मन्त्री पाण्डेले दुई देशको सहकार्यमा नाटक महोत्सव आयोजना हुनु खुसीको कुरा भएको भन्दै प्रशंसा गरे । मन्त्रालयले कलासंस्कृतिको संरक्षणमा काम थालेको जानकारी गराउँदै उनले यसरी कार्यक्रम गर्दा दुई देशको सम्बन्ध विस्तार हुनाका साथै आपसी अनुभव आदानप्रदान हुने पनि बताए ।

प्रतिष्ठानकी कुलपति निशा शर्माले यसरी सहकार्यमा महोत्सव गर्दा कलासंस्कृति आदानप्रदान हुने बताइन् । उनले भनिन्, “नेपाल-भारत रङ्ग महोत्सवलाई एक अर्कासँग सिक्ने अवसरका रूपमा हेरिएको छ, एकअर्काको नाटक हेरेर त्यसबाट नयाँ सीप र कला सिक्न सकिन्छ, त्यो अवसर जुरेको छ ।”

महोत्सव उद्घाटनपछि सीके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो । ३० गतेसम्म चल्ने महोत्सवमा ६ वटा नाटक प्रदर्शन गरिने प्रतिष्ठानकी कुलपति शर्माले जानकारी दिइन् । जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने नाटकमध्ये तीनवटा नेपालका र तीनवटा भारतका प्रदर्शन हुने बताइन् । कुलपति शर्माका अनुसार भारतको राजधानी नयाँदिल्लीमा माघ १५ गते नै यस्तै महोत्सवसुरु भइसकेको र भारतका ११ सहरमा महोत्सव जारी छ ।

भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव नेपालमा पहिलो पटक भएको बताउँदै उनले यसपालि महोत्सवमा भारतको संस्कृति मन्त्रालयका निमित्त सचिवसहितका उच्चअधिकारीहरू पनि सहभागी भएको बताइन् ।

महोत्सवअन्तर्गत विहीबार नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’, माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ ।

महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ ।

माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ । कुलपति शर्माले महोत्सवमा सहभागी हुने नेपाल भारतका चर्चित नाटक केवल प्रस्तुति मात्र नभएर एकअर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरुको साझा संवाद हुने र छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिन् ।

मंचन हुने नेपाली नाटकहरुमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ काठमाडौँमा प्रदर्शन भइसकेपछि नयाँ दिल्लीमा प्रदर्शन हुने छन् भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौँमा प्रदर्शन हुनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?