
२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न प्राकृतिक प्रकोप पीडितलाई राहत तथा पुनर्निर्माणका लागि स्रोतको खोजी गर्न सरकारलाई आग्रह गरेका छन् । विभिन्न समयमा भएका प्राकृतिक विपद्का पीडितले हालसम्म राहत नपाएको विषय बिहीबारको संसदमा उठाएका हुन् ।
‘जाजरकोटको भूकम्प, असोजको बाढी, यसबारे गरिएका कामहरु, भइरहेका कुराहरु स्रोत कसरी जुटाउने सोचिएको छ, यी सबै कुराहरुको बारेमा सदनलाई जानकारी गराइयोस्’, उनले भने, ‘हामी सुन्न पनि चाहन्छौं, त्यो छलफलमा भाग लिन पनि चाहान्छौं ।’
जाजरकोटको भूकम्पबाट क्षति भएका ९२ हजार घरहरुको पुनर्निर्माण गर्नुपर्ने आँकलन गरिएको थियो । तर, दोस्रो किस्ता पनि कतिपय घरहरुले पाएका नपाएको बताउँदै उनले भने, ‘उदेकलाग्दो कुरा त डीडीए भर्खर मात्र भएको छ ।’
असोजको बाढीमा बगेका, भत्केका घरहरुको अस्थायी आवास बनाउन मंसिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद व्यवस्थापन परिषदले निर्णय गरेको थियो । तर, उक्त अनुदान पनि अझै पीडितले नपाएको सदनमा थापाले सुनाए ।
त्यस्तै, महानमन्त्री ४१ वटा सडकखण्डको पुनर्निर्माण गर्न मात्रै २५ अर्ब चाहिने पनि बताए । ‘यसरी हेर्दा करिब करिब एक खर्ब चाहिन्छ हामीलाई । सरकारले बजेटमा छुट्याएको जम्मा २१ अर्ब छ । यो पैसा कहाँबाट ल्याउने भनेर सरकारले सोचेको छैन’, उनको प्रश्न छ, ‘यो बर्खाको बेला बाटाहरु कसरी बन्छन् ?’
उदय शमशेर राणाले पनि ललितपुर लगायतका जिल्लामा ४ महिना बितिसक्दा पनि पुनर्निर्माण, पुनर्वासका काम सुरु नभएको बताए । ‘त्यहाँका जनताले अत्यन्त दुःख पाइरहेका छन्’, उनले भने ।
प्रतिक्रिया 4