+
+

ओलीले ‘जनयुद्ध’लाई ‘हिंसा’ भन्दा बादललाई आपत्ति छैन

अध्यक्ष ओलीसहित एमाले नेताहरुले जनयुद्धलाई हिंसा भन्ने टिप्पणी बारेको जिज्ञासामा बादलले लामो पृष्ठभूमिसहित जवाफ दिएका छन् । तर आपत्ति जनाएर होइन । ‘जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेको हिंसा हो । हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ । त्यसकारण हाम्रो अध्यक्षले भनेकोमा चाहिँ कुनै आपत्ति छैन’, बादलले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते २२:२१

२४ माघ, धनगढी। तत्कालीन नेकपाको एकता भंग भएपछि केपी शर्मा ओलीलाई साथ दिदै नेकपा एमालेतर्फ उभिने शीर्ष नेता हुन्, रामबहादुर थापा बादल ।

त्यसबेला बादलसहित माओवादी पृष्ठभूमिका ठूलै समूहले ओली र पुनर्स्थापित एमाले रोजेका थिए । जसमध्ये अहिले बादल एमालेका उपाध्यक्ष र लेखराज भट्ट सचिव छन् । अर्का एमाले पुनस्र्थापित भएपछि २०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनबाट सचिव निर्वाचित टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा जेल परेका छन् ।

त्यसैले अहिले एमालेको पदाधिकारी तहमा माओवादी पृष्ठभूमिका दुई पदाधिकारी छन् । उनीहरु मध्ये लेखराज भट्टले फाट्टफुट्ट बोल्ने गरेपनि बादलको बोली सुन्नै निक्कै मुस्किल छ । उनी सार्वजनिक अभिव्यक्ति दिनु त परको कुरा भयो, एमालेकै आन्तरिक बैठकहरुमा समेत बोल्दैनन् । बादलको यो पुरानै स्वभाव हो ।

तर बिहीबार अछाममा आयोजित पत्रकार सम्मेलनमा बादलले खुलेरै राजनीतिक टिप्पणी गरेका छन् । एक्लै अतिथि  रहेका पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष बादलले पत्रकारहरुसँग झण्डै ५० मिनेट सवालको जवाफ दिएका छन् ।

उनको जवाफमा धेरै चासोका साथ हेरेका राजनीतिक अन्तर्वस्तु पनि छन् । जस्तो कि माओवादी जनयुद्धको सवाल ।

अध्यक्ष ओलीसहित एमाले नेताहरुले जनयुद्धलाई हिंसा भन्ने टिप्पणी बारेको जिज्ञासामा बादलले लामो पृष्ठभूमिसहित जवाफ दिएका छन् । तर आपत्ति जनाएर होइन । ‘जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेको हिंसा हो । हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ । त्यसकारण हाम्रो अध्यक्षले भनेकोमा चाहिँ कुनै आपत्ति छैन’, बादलले भनेका छन् ।

तर अहिले माओवादीको हिंसात्मक आन्दोलन र एमालेको शान्तिपूर्ण आन्दोलन भन्दा अगाडि बढेर नेकपाकालीन समाजवादी क्रान्तिबारे विमर्श आवश्यक रहेको बताएका छन् ।

जनयुद्धलाई हिंसा भनिएकोबारे बादलको व्याख्या उनकै शब्दमाः

जनयुद्ध भनेको हिंसा नै हो । जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेको हिंसा हो । हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ । त्यसकारण हाम्रो अध्यक्षले भनेकोमा चाहिँ कुनै आपत्ति छैन । त्यो कुरालाई माओवादीले पनि मान्छ । अथवा माक्र्सवादीहरुले सबै क्रान्तिकारीहरुले युद्धद्वारा पनि समस्याको समाधान गर्नुपर्छ । किनभने युद्ध भनेको हिंसा भनेको वर्ग संघर्ष हो । संघर्षको सर्वोच्च रुप हो ।

वर्ग संघर्ष शान्तिपूर्ण ढंगले पनि हुन्छ । त्यहाँ कुनै हिंसा हुँदैन, कसैलाई मार्ने भन्ने हुँदैन । वाकयुद्ध पनि हुन्छ । अरू शान्तिपूर्ण आन्दोलन, हडताल, जुलुसहरु गरेर पनि विविध रुपमा हुन्छ । त्यसैले युद्ध हिंसा पनि वर्ग संघर्ष एउटा रुप हो ।

युद्ध भनेको चाहिँ हिंसा कसैलाई मार्दिनु । युद्ध भनेको एउटा संगठित संघर्ष हो, अभियान हो । हिंसा कुनै एकल, भनौ न कुनै गुण्डाले कसैलाई बलात्कार गरेर मार्दियो भने त्यो युद्ध होइन । प्रत्येक हिंसा युद्ध होइन ।

त्यसकारण युद्ध भनेको वर्ग संघर्ष हो । राजनीतिक आन्दोलनको संघर्षको उच्चतम रुप भनेर मान्छ माक्र्सवादले । अथवा सामाजिक विज्ञानले मान्छ । त्यसकारण हामीले नेकपा गठन गर्दा जनयुद्धको बारेमा, नेपालमा भएका संघर्षहरुको बारेमा के उल्लेख छ भने (नेकपाको दस्तावेजमा) नेपालमा चलेको दश वर्षे जनयुद्धले अथवा सशस्त्र संघर्षले नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको छ ।

र त्यो कुराहरु अहिले नेकपा एमालेको दशौं महाधिवेशनले पनि पूर्ण रुपमा निषेध गरेको छैन । त्यसबेला चाहिँ (माओवादीले २०५२ मा जनयुद्ध सुरु गर्दा) माओवादी केन्द्रले यो सशस्त्र संघर्ष अथवा युद्ध गरेको बेलामा नेकपा एमालेको सहमति थिएन । नेपालमा अहिले युद्ध अथवा रक्तपातपूर्ण वर्ग संघर्ष सुरु गर्ने बेला भएको छैन भन्ने थियो । त्यसकारण तात्कालीन नेकपा एमालेले यसलाई उग्रवामपन्थी राजनीतिक विचलन हो, उनीहरुको निष्कर्ष त्यो थियो ।

नेकपा एमालेले ०४७ सालदेखि संविधान बनेपछि, संसदीय बहुदलीय व्यवस्था आएपछि चुनावमा भाग लिदै आयो । नेकपा एमालेले लोकतान्त्रिक क्रान्ति चाहिँ शान्तिपूर्ण ढंगले निर्वाचनमा सहभागी बनेर सरकारमा गएर पूरा गर्ने कार्यदिशा लियो ।

वर्ग संघर्षको वैधानिक र शान्तिपूर्ण रुपलाई अवलम्बन गर्ने त्यो लाइन उसको (एमाले) थियो । तर उसको राजनीतिक लक्ष्य (मदन भण्डारीले पेश गरेको जनताको बहुदलीय जनवाद, जबजको राजनीतिक लक्ष्य) त जनसत्ता स्थापित गर्ने थियो । जनवादी क्रान्ति पुरा गर्ने, लोकतान्त्रिक पुरा गर्ने भन्ने थियो ।

तर त्यो प्राप्त गर्ने बाटो भनेको शान्तिपूर्ण बाटोबाट गर्ने भन्ने थियो । त्यसकारण त्यहाँनेर लोकतान्त्रिक क्रान्ति पुरा गर्ने कुरामा, त्यसको साधनमा, वर्ग संघर्षको स्वरुपमा अन्तर थियो । सहमति थिएन ।

माओवादीहरु चाहिँ वैधानिक र अवैधानिक दुवै तरिकाले गर्नुपर्छ भन्नेमा थिए । तत्कालीन नेकपा एमाले हामी वैधानिक र शान्तिपूर्णमै जानुपर्छ भन्ने थियो ।

र, मदन भण्डारीले प्रस्तुत गरेको ‘बल प्रयोग’, हिंसाको कुरालाई चाहिँ फेरि पुरै नकार्न सकिदैन यो अपरिहार्य पनि भनेका छन् । मदन भण्डारीको दस्तावेजमा छ । पछि नेकपा एमालेले अलग ढंगले अथवा परिमार्जन र परिस्कृत गर्दै गयो । मदन भण्डारीलाई विकास गरेको भनौं, अथवा सच्याएको भनौं । पछि अरू व्याख्या हुँदै आयो ।

तर मदन भण्डारीद्वारा प्रस्तुत जबजको कार्यक्रम हो, अथवा सिद्धान्त भनौं । त्यसमा स्पष्ट रुपमा छ बल प्रयोगको अपरिहार्यता छ । र मदन भण्डारीको योगदान कहाँनेर हो भने बहुदलीयता, राजनीतिक प्रणाली कस्तो हुनुपर्ने भन्दाखेरी रुस र चीनमा यो कुरालाई निषेध गरे । रुसमा एक दलीय गरे । चीनमा एक दलीय भन्दैन । तर सारमा एक दलीय नै हो । त्यहाँ (चीनमा) सात आठ दल छन् । तर सह–अस्तित्व भन्छन्, संसदमा प्रतिनिधित्व गराउँछन् । त्यहाँका जनकंग्रेसमा छ ।

त्यसकारण मेरो आफ्नो मत पार्टीभित्र नेकपामा जो डिसिजन भएको थियो, त्यही नै सही हो भन्ने हो । त्यसकारण नेकपा एमाले भनेको नेकपाको निरन्तरता र राजनीतिक निष्कर्ष पनि हो । त्यो हिसाबले बुझ्छु मैले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?