+

वीरमा विपन्न बिरामीका कुरुवालाई सित्तैँमा खाना

२०८१ माघ  २४ गते २१:१२ २०८१ माघ २४ गते २१:१२

उपचारका लागि आएका बिरामीको कुरुवालाई बुधबारदेखि बिहान–बेलुका खाना खुवाउन थालिएको हो ।

वीरमा विपन्न बिरामीका कुरुवालाई सित्तैँमा खाना

२४ माघ, काठमाडौं । ज्याला मजदुरी गर्नेहरूलाई दुई छाक टार्नै धौ–धौ छ । त्यसमाथि परिवारमा कोही बिरामी भए भने कमाई खाने कि बिरामी स्याहारसुसार गर्ने ? कुनै उपाय हुँदैन ।

अस्पतालमा यस्ता थुप्रै बिरामी र कुरुवा आइपुग्छन्, जोसँग उपचार खर्च नहुने मात्र होइन साँझ–बिहानको छाक टार्ने पैसा पनि हुन्न । त्यसैले त उनीहरू बिरामीलाई अस्पतालकै शय्यामा छाडेर ज्याला मजदुरी गर्न दौडिन्छन् ।

यस्तै नियति भोग्न बाध्य कुरुवाहरू भेटिन्छन्, वीर अस्पतालमा । देशकै सबैभन्दा जेठो अस्पताल नै उनीहरुको आशाको केन्द्र हो, जहाँ उनीहरुले कम खर्चमा उपचार गर्न सक्छन् ।

तर जसोतसो बिरामी भर्ना गरिसकेपछि कहाँ बस्ने ? के खाने ? भन्ने कुराले उनीहरुलाई पिरोल्न थाल्छ।

ऋणपान गरेर ल्याएको पैसा बाटो खर्चमै जान्छ । त्यसमाथि औषधि किन्नुपर्‍यो । कहिले काहीँ बिरामीको उपचार अवधि लम्बिन्छ । एकातिर खल्तीमा पैसा हुन्न, अर्कोतिर अस्पतालमै महिनौं बस्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दुई छाक मात्र खाना पाए पनि ठूलो राहत मिल्छ।

बिरामीका कुरुवाले भोग्नुपरेको भोक मार्नका लागि खेप्नुपरेको दुःख, कष्टमा मलम लगाउनका लागि वीर अस्पतालमा निःशुल्क खाना खुवाउन थालिएको छ । समानुभूति नेपाल, सारा चिल्ड्रेन होम नेपाल तथा नवदुर्गा पार्टी भेन्युको सहकार्यमा बिरामी कुरुवालाई खाना खुवाउन थालिएको हो।

अस्पतालमा उपचारका लागि आएका बिरामीको कुरुवालाई बुधबारदेखि संस्थाले बिहान–बेलुका खाना खुवाउन थालेको वीर अस्पतालका उपकुलपति डा.भुपेन्द्र बस्नेतले जानकारी दिए ।

‘बिरामीलाई हामीले नियमित रुपमा खाजा र खानाको व्यवस्था गरेका छौँ । तर कुरुवाका लागि भने व्यवस्था गर्न सकेका थिएनौं,’ डा. बस्नेतले अनलाइनखबरसँग भने, ‘पैसा नभएका कारणले बिरामीलाई दिएको खानेकुरा कुरुवाले बाँडेर समेत खाएका हुन्छन्।’

सामाजिक कार्यमा संलग्न संस्थाको मनकारी भावनाले बिरामीको कुरुवालाई धेरै राहत मिल्ने डा.बस्नेतले बताए।

उनका अनुसार सबै बिरामीको कुरुवालाई भन्दा पनि लामो समय अस्पताल बसेका र खानेकुरा समेत जुटाउन नसक्ने बिरामीका कुरुवालाई खाना दिइनेछ । स्वास्थ्यकर्मीले बिरामीको कुरुवा रेफर गरेको आधारमा मात्रै संस्थाले कार्ड बनाएर खानेकुरा दिन्छन्।

‘बिहान बेलुका खाना खान नै पैसा नहुनेका लागि, समस्या परेका बिरामीका कुरुवालाई खानेकुरा दिन थालिएको हो,’ बस्नेतले स्पष्ट पादै भने, ‘हामीले रेफर गरेको आधारमा संस्थाले कार्ड दिन्छन्। त्यसको आधारमा बिहान–बेलुका खाना खान पाउँछन् ।’

वीरमा दैनिक ७ सयको हाराहारीमा बिरामी भर्ना हुन्छन्। बस्नेतका अनुसार बुधबार सय जना बिरामीका कुरुवाले खान खाएका छन् ।

समानुभूती नेपालले विगत ५ वर्षअगाडि देखि नै अन्य अस्पतालमा बिरामीका कुरुवालाई निःशुल्क खानाको सुविधा दिँदै आएको छ ।

खाना बिरामी कुरुवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय