+
+

प्रचण्डले संसद्‌मा बोल्दा प्रधानमन्त्री कहाँ थिए ?

प्रधानमन्त्रीले छले प्रमुख प्रतिपक्षी नेताको मन्तव्य

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १७:३७

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार प्रतिनिधिसभामा बोल्ने कार्यसूची पहिल्यै तय थियो । बुधबार त यसबारे औपचारिक निर्णय नै भयो ।

हिजो बुधबार सिंहदरबारस्थित कार्यव्यवस्था परामर्श समितिमा सबै दलका प्रमुख सचेतक उपस्थित थिए, जहाँ एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि थिए ।

प्रधानमन्त्रीले सिधै संसद्सँग व्यवहार गर्ने औपचारिक माध्यम कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमार्फत् हो । मन्त्री अजयकुमार चौरसिया स्वयं हिजो बुधबारको बैठकमा सहभागी थिए । यही बैठकले प्रचण्डले आज बिहीबार संसदमा बोल्ने औपचारिक तय गर्‍यो ।

अर्थात् कानुनमन्त्रीबाट प्रधानमन्त्रीलाई अब संसद्को आजको कार्यसूची औपचारिक रुपमै थाहा भयो । संसद्का नियमित गतिविधिमा चासो राख्नु, र नियमित बैठकमा सहभागी हुनु प्रधानमन्त्रीको कर्तव्य नै हो । संविधानले संसदप्रति जवाफदेही कार्यपालिकाप्रमुख कल्पना गरेको छ ।

सरकारले संसद् खुल्नुअघि जारी गरेका अध्यादेशहरू तत्काललाई अघि नबढाउने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश कानुनमन्त्री चौरसियाले सभामुख देवराज घिमिरेलाई आज (बिहीबार) बिहान भनेका थिए । यी सबै प्रक्रियामा प्रधानमन्त्री ओली जोडिएकै छन् ।

तर उनी संसद् आएनन् ।

प्रधानमन्त्री निकट स्रोतले दाबी गरे अनुसार विपक्षी दलका नेता प्रचण्ड बोल्ने जानकारी ओलीलाई थिएन । उनी बिहीबार सरकारी निवास बालुवाटारमै रहे ।

‘उहाँ बोल्ने जानकारी वा खबर थिएन, त्यसैले प्रधानमन्त्रीज्यू नजानुभएको हो, अरु केही कारण होइन,’ बालुवाटार स्रोतले अनलाइनखबरलाई भन्यो ।’

संसद्को ठूलो दल अर्थात् कांग्रेसका नेता शेरबहादुर देउवा केही ढिलोगरी आइपुग्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भने अनुपस्थित हुन पुगे । प्रचण्डले देउवालाई ढिलै भए पनि आएकामा धन्यवाद दिँदै सत्तापक्षभित्र आपसी अन्तर्विरोध सिर्जना हुनसक्ने विन्दुहरू पहिल्याउँदै एक घन्टा मन्तव्य दिए ।

यसअघि १८ माघमा संसदको हिउँदे अधिवेशन सुरु हुँदा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले बोलेका थिए । प्रचण्डले त्यसै दिन बोल्न खोज्दा दलगत आधारमा एमालेले योगेश भट्टराईलाई बोल्न पठाएपछि उनी रोकिएका थिए ।

त्यसै दिन सन्चारमाध्यममा प्रचण्ड आज बिहीबार बोल्ने सूचना बाहिरिइसकेको थियो । बुधबार औपचारिक कार्यसूची कार्यव्यवस्था समितिबाट तय भए पनि प्रधानमन्त्री नगएको विषयले संसदीय मर्यादाको मान्यता नराखेको तर्फ विमर्श भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?