
२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन सरकारले चोर बाटो खोजिरहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रचण्डले बिचौलियाका आँखा यतिबेला धितोपत्र बोर्डमा रहेको आरोप लगाए ।
‘नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिनुपर्ने भए कमिसनबाट नभई खुला प्रतिस्पर्धाबाट अझ रकम बढाबढबाट दिनुपर्छ, त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ,’ उनले भने ।
दूरसञ्चार फ्रिक्वेन्सी जस्तै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बन्नुपर्ने उनले बताए ।
यसअघि रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन क्रममा धितोपत्र बोर्डलाई बुझाएको अडिट रिपोर्टप्रति उनले प्रश्न गरे ।
‘म सोध्छु, स्पिनिङ मिल्सको आईपीओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमै मिलाइयो,’ उनले भने, ‘तत्कालीन सेन्चुरी बैंकको अर्बौं ऋण दुरुपयोगको छानबिन के भयो ? सामसुम पारियो । मिलाइयो, चोख्याइयो, जोगाइयो ।’
प्रतिक्रिया 4