
२४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश सुझाव कार्यदलले दिएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका छन् । राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन केन्द्र र प्रदेशमा सरकारमा हिस्सेदारी खोजेको चर्चा भएपछि यादवका स्वकीय सचिव महेश चौरसियाले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका लागि अध्ययन गर्न जसपा नेपालले कार्यदल बनाएको थियो ।
कार्यदलले बिहीबार यादवलाई राय सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सांसदहरुलाई अध्ययनका लागि वितरण गरिएको चौरसियाले जानकारी गराए ।
‘प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशलाई पेश नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय आजै नलिई उक्त प्रतिवेदन उपर थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्र हित हुने गरी ठोस निर्णय लिने जानकारी गराउन चाहन्छौं,’ चौरसियाले भने ।
अध्यादेशको सम्बन्धमा जसपा नेपाललाई जोडेर विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा तथ्यहीन समाचार आएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया 4