+
+

‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

सामाजिक सञ्जालको प्रयोगबारे जनचेतना जगाउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १८:४३

२४ माघ, काठमाडौं । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरकोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

रोटरी क्लब अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा बुधबार राजधानीमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिक लगायत आपराधिक गतिविधिको अवस्था हेर्दा सामाजिक विपद्कै रूपमा यो समस्या बढ्न सक्ने विज्ञहरूले बताए ।

वक्ताहरूले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरे ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘सामाजिक सञ्जाललाई जिम्मेवार र सुरक्षित तरिकाले प्रयोग गर्नुबाहेक हामीसँग विकल्प छैन । यसमा हाम्रो ध्यान जान जरुरी छ ।’

सामाजिक सञ्जालको प्रयोगले मानसिक सामाजिक लगायत मानिसहरूको बहुआयामिक क्षेत्रमा असर गरिरहेको श्रेष्ठले बताए ।

पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सञ्जाल प्राणघातक रोगका रूपमा फैलिरहेको बताए । ‘हाल मृतकको संख्या हेर्दा १० प्रतिशत मानसिक समस्याका कारण भइरहेको भन्ने तथ्याङ्क छ,’ उनले भने, ‘मानसिक रोगको कारक सामाजिक सञ्जाललाई मानिएको छ । दिनमा २ घण्टाभन्दा धेरै मोबाइल चलाउँदा मानसिक, शारीरीक सामाजिक हिसाबले हानिकारक छ भन्ने कुरा जान्दाजान्दै पनि यसको लतमा फसिरहेका छौं, त्यसैले कानुन सँगसँगै हामी आफैं पनि सुध्रिन जरुरी छ ।’

पूर्वमुख्यसचिव शंकर बैरागीले अहिलेको युगमा सामाजिक सञ्जालको प्रयोग अत्यावश्यक भएता पनि बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्न जरुरी रहेको बताए । यसको प्रयोगका लागि कानुन बन्नुपर्नेमा समस्या आएपछि मात्रै कानुन बनाउने परम्पराका कारण दुरुपयोग भइरहेको उनको भनाइ छ ।

मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेले हेर्दा सामान्य लागे पनि मोबाइल र इन्टरनेटको लत बच्चादेखि वृद्धसम्म सबैमा रहेको बताए । पाण्डेका अनुसार १० देखि ५० प्रतिशत मानिसहरूमा मोबाइलको लत छ । डिप्रेसन, एन्जाइटी जस्ता मानसिक समस्याको प्रमुख कारण मोबाइल तथा इन्टरनेटको अधिक प्रयोग नै रहेको उनको भनाइ छ ।

नेपाल प्रहरीको साइबर ब्युरोका डीएसपी उमेशप्रसाद साहले विभिन्न सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराधका घटना दिन प्रतिदिन बढिरहेको बताए । साहका अनुसार सामाजिक सञ्जालमा पनि सबैभन्दा धेरै फेसबुकको दुरुपयोग भइरहेको छ ।

अहिले नेपालमा ३७ लाख ४७ हजारको हातमा मोबाइल छ, जसमध्ये आधाभन्दा धेरैले फेसबुक चलाउँछन् । अध्ययन अनुसार फेसबुकबाट मात्रै १ मिनेटमा २ लाख ४३ हजार फोटो अपलोड हुने गरेको साहले तथ्यांक पेश गरे । यो क्रियाकलापमा १० देखि १२ कक्षामा पढ्ने किशोर किशोरीहरू संलग्न रहने गरेको उनले बताए ।

फेसबुक तथा म्यासेन्जरकै माध्यमबाट यौन शोषण, सामुहिक बलात्कारदेखि लिएर किशोरी बेचबिखनसम्मका घटना भएको उदाहरण दिँदै डीएसपी साहले साइबर क्राइमबारे कानुन नबन्दा अझ समस्या हुने गरेको बताए ।

उनले भने, ‘०६३ सालको विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार काम गर्नु परेको छ, तर, अहिलेसम्म त्यो दफा अनुसार हुने भनिएको सजायँ कसैमाथि भएको छैन ।’

त्यस्तै, आइटी विशेषज्ञ अश्विनी भट्ट्राईले कतिपय किशोर किशोरीहरू जानी नजानी बुलिङको शिकार भइरहेकाले सामाजिक सञ्जाल चलाउँदा सचेत हुनुपर्ने बताइन् । उनले साइबर क्राइमसम्बन्धी शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘फ्री वाइफाइ चलाउँदा, आफ्नो परिचयपत्र खुल्ने कागजातहरू कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयको जनाकारी हुनपर्छ । अभिभावकले पनि आफ्ना बालबालिकाहरूलाई कुन उमेरमा कस्तो डिभाइसहरू चलाउन दिने भन्ने विषयको जानकारी राख्न आवश्यक छ ।’

अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले साइबर अपराधमा संलग्नलाई कारबाहीको पाटोमा कानुन चुकेको बताए । यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए ।

रोटरी क्लव अफ काठमाडौंका अध्यक्ष सुशीलकुमार कार्कीले मोबाइलको एडिक्सन र बुलिङले मानव जीवनमा विपदकै रुप लिन थालेको भन्दै यसको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्न जरुरी रहेको बताए ।

रोटरी क्लवले यस विषयमा देशव्यापी कार्यक्रहरू गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?