
२४ माघ, काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्स्चेन्ज प्रक्रिया अघिल्लै सरकारले अगाडि बढाएको स्पष्टीकरण दिएका छन् ।
बिहीबार प्रमुख प्रतिपक्षी दलका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस प्रक्रियामा प्रश्न गरेका थिए ।
‘म स्पष्ट भाषामा भन्छु, यस सम्बन्धमा हिजो किन प्रक्रिया सुरु गर्नुभयो ? किन रोक्नुभयो ?,’ त्यसबारे संसद्मा जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘यो सरकारले हिजो उहाँले सुरु गरेको प्रक्रियालाई टुंग्याइदिएको मात्र हो ।’
पौडेलले अघिल्लो सरकारले प्रक्रिया थालेर कुनै पात्रका कारण प्रक्रिया रोकेको हुन सक्ने शंका व्यक्त गरे ।
‘कुनै पात्र मन पर्यो वा परेन, रोक्नुभयो, त्यसैलाई मैले अगाडि बढाएको मात्र हो,’ पौडेलले भने ।
उनले कसको प्रभावमा परेर सुरु गरेको र किन रोकेको भन्दै प्रश्न समेत गरे । ‘अकारण रोकेको प्रक्रिया अगाडि बढाउँदा कसरी गलत हुन्छ ?,’ उनले भने ।
उनले नयाँ स्टक एक्स्चेन्ज पनि अघिल्लो सरकारले छनोट प्रक्रिया थालेको भन्दै पन्छिए । ‘किन रोकियो ? कसको के आवश्यकताले रोकिनुपर्यो ? यो सरकार धितोपत्र बोर्डको सम्बन्धमा कानुनसम्मत अगाडि बढ्छ,’ अर्थमन्त्री पौडेलले भने ।
धितोपत्र बोर्डका सम्बन्धमा उच्च स्वरमा नबोल्न समेत उनले आग्रह गरे ।
प्रतिक्रिया 4