
२४ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना सकिँदा प्रदेश र स्थानीय तहलाई कुल १ खर्ब ८५ अर्ब रुपैयाँ हस्तान्तरण गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार पुससम्म प्रदेशलाई ३४ अर्ब ८९ करोड २२ लाख र स्थानीय तहलाई १ खर्ब ५० अर्ब २६ करोड ८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको हो ।
चालु आव ६ महिनामा वित्तीय हस्तान्तरणतर्फ कुल विनियोजन भएको अनुदानको ४५.२८ प्रतिशत हस्तान्तरण भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशतर्फ ३६.१७ प्रतिशत र स्थानीय तहमा ४८.१० प्रतिशत हस्तान्तरण भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेश तथा स्थानीय तहमा समानीकरण, ससर्त, विशेष र समपूरक अनुदान गरी कूल ४ खर्ब ८ अर्ब ८७ करोड ६९ लाख रुपैयाँ विनियोजन भएको थियो ।
कुल वित्तीय हस्तान्तरणमध्ये प्रदेशमा ९६ अर्ब ४५ करोड ८ लाख र स्थानीय तहमा ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख विनियोजन भएको थियो । जसमा चालुतर्फ ३ खर्ब ४१ अर्ब ५९ करोड ५८ लाख र पूँजीगततर्फ ६७ अर्ब २८ करोड ११ लाख रुपैयाँ थियो ।
प्रतिक्रिया 4