
काठमाडौं । ‘रेशम फिलिली’को मुख्य पात्रको सपना कतार उड्नु थियो । यतिबेला ‘फेरि रेशम फिलिली’को मुख्य पात्रको सपना अमेरिका उड्नु हो । दशकसम्म नेपाली युवाको सपनाको स्तरमा कुनै परिवर्तन आएन । बरु, अहिले पनि युवा विदेश गएर जीवनलाई समृद्ध तुल्याउन सपना देखिरहेका छन् ।
‘फेरि रेशम फिलिली’को प्रोटागोनिस्ट रेशमको सपना अमेरिका पुग्नु हो । बहुसंख्यक नेपाली युवा र नेपाली समाजमा रहेको ‘अमेरिका ड्रीम्स’को यही सपनालाई कटाक्ष गर्दै फिल्म ‘फेरि रेशम फिलिली’ले मर्मस्पर्शी टिजर ल्याएको छ । प्रस्तुतिकरण कमेडी देखिएपनि यसभित्रको मर्म र सन्देश गहन छ ।
विहिबार बेलुका सार्वजनिक भएको ‘फेरि रेशम फिलिली’को टिजरले ‘अमेरिका ड्रीम्स’को आयामलाई प्रस्तुत गरेको छ । अमेरिकी सपनामाथि पछिल्लो समय धेरै फिल्म बने, यसबीच आउँदै गरेको ‘फेरि रेशम फिलिली’ले पनि यस्तै सामाजिक पाटोलाई चित्रण गर्ने अपेक्षा छ ।
निरोज महर्जन निर्देशित फिल्मको टिजरको केन्द्रमा विनय श्रेष्ठ छन् । अमेरिका जाने सपना देखिरहेको ऊ सामु आइलाग्ने अवरोधको कथा यसमा छ । सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर बाङ्देल, रविन्द्र झा, महेश त्रिपाठी, मेक्सम गौडेल, एवनराज उप्रेती लगायतको अभिनय यसमा छ ।
सिनेमा आर्टको निर्माण र वि मोसन पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो । रौनकविक्रम कँडेल निर्माता, एनी थापा सहनिर्माता र सुरजबम ठकुरी कार्यकारी निर्माता हुन् । यो फिल्म फागुन १४ गते शिवरात्रीमा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4