
२४ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूले केयूमा नेतृत्वको संकट आएको टिप्प्णी गरेका छन् । शिक्षा पत्रकार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा केयूका कामु उपकुलपति प्राडा अच्युत वाग्लेले विगत १२ वर्षमा नेतृत्वको संकट आएको बताए ।
‘विगत १२ वर्षमा नेतृत्वको संकट पर्यो । सुरेशराज सर र सिताराम सरले छोडेपछि उपकुलपति र रजिस्ट्रारको कहीँ न कहीँ बिमेल भइरह्यो । असमझदारी, स्वार्थको टकराव, घमण्डको टकराव भयो । ८ वर्ष माकाजु सर बस्नुभयो । तीन जना रजिस्ट्रार फेर्नुभयो,’ उनले भने ।
१२ वर्षमा केयूको व्यवस्था बिग्रिएको उनको जिकिर छ । ‘एउटाले नियुक्ति गरेको अर्कोले खारेज गरेको छ । अर्कोले डबल नियुक्ति गरेको छ । १२ वर्षमा सिस्टम बिग्रियो,’ उनले भने ।
नेतृत्वले नेतृत्वदायी भूमिका निभाउन नसकेको उपकुलपति वाग्लेको तर्क छ । ‘लिडर थिए तर लिडरसिप दिन सकेनन् । माकाजु सर र भोला सरको द्वन्द्व थियो । ४ वर्ष नष्ट भयो । धुलिखेल र केयू दुवै काभ्रेका गौरव हुन् । दुई व्यक्तिले मिहिनेत गरेर बनाएको संस्था हो । माकाजु सरले एउटा थुम्कोमा, सरेश सरले अर्को थुम्कोमा बनाउनु भयो । दुवै संस्थालाई सँगै लैजानुको विकल्प छैन । तर ३ वर्ष ११ महिना पूर्व भीसी र वर्तमान भीसीको बोलचाल नभइ टुंगियो । अहिले मिल्यौ भनेको छ । यसलाई मिलाएर लैजान चुनौती छ,’ कामु उपकुलपति वाग्लेले भने ।
कामु उपकुलपति वाग्लेले केयूमा आर्थिक पारदर्शीताको संस्थाग विकास आवश्यक रहेको बताए । ‘आर्थिक स्रोत विद्यार्थीको शुल्क छ । दाताले दिएको सहयोग छ । तर कसरी परिचालन भएको छ । सुशासन र पारदर्शीतालाई संस्थागत गर्नुपर्ने छ,’ उनले भने ।
नयाँ उपकुलपतिका उम्मेद्वार समेत रहेका वाग्लेले आफू बन्नका लागि दौडधुप नगरेको दाबी गरे । तर, उनले उपकुलपतिको छनोट निष्पक्ष हुनुपर्नेमा जोड दिए । ‘म दौडधुपमा लागेको छैन । खुला किताब हुँ,’ उनले भने, ‘छनोट निष्पक्ष होस् ।’
प्रा.डा. मनप्रसाद वाग्लेले केयूको स्थापना हुँदा जुन सोचले स्थापना भएको हो, त्यो सोचमा अहिले पनि परिवर्तन नभएको टिप्प्णी गरे ।
‘१९९१ मा जसरी स्थापना भयो त्यो सोचमा २०२५ मा आइपुग्दा पनि परिवर्तन भएको छैन । लिगेसीमा परिवर्तन भएन,’ उनले भने ।
२० वर्ष उपकुलपति भएर बाहिरिएपछि पनि केयूको उपकुलपति छनोटमा सुरशेराज शर्मा संयोजक भइरहेकोमा पनि उनले प्रश्न उठाए ।
‘जति उपकुलपति बन्यो शर्मा सर र्नै संयोजक हुनुहुन्छ । यो सोचमा परिवर्तन गर्नुपर्छ । १८ वर्षको मेरो अनुभवले भन्छ, अबको उपकुलपतिको लिगेसी परिवर्तन गर्नुपर्छ । छनोट समिति देखाउने दाँत मात्र भएको बताउँदै प्राडा वाग्लेले केयूमा कांग्रेस निकटको उपकुलपति आउने तर्क गरे । पोलिटिकल समिति छ,’ उनले भने ।
उपकुलपतिका उम्मेदवारसमेत स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुईंटेलले पछनोट प्रक्रियामा प्रश्न रहेको बताए । ‘व्यक्ति को आउँछ को बन्छ गौण कुरा हो । गर्न सक्ने आओस् । लिगेसीमा परिवर्तन गर्नुपर्छ,’ उनले भने ।
आफू पनि उपकुलपतिको उम्मेद्वार भएकाले नयाँ उपकुलपति छनोटका विषयमा थप टिप्पणी गर्न चाहेनन् । प्राडा लुईंटेलले केयूको शैक्षिक कार्यक्रममा सुधार गर्न आवश्यक रहेकोमा जोड दिए ।
‘धेरै बिग्रेको पनि होइन । तर बिग्रने लक्षण देखियो । केही प्रोग्राम बिगेको छ । केहीमा राम्रो छ । नचलेको फ्याकेल्टीलाई मर्ज गर्नुपर्छ,’ उनले भने ।
केयूको सभा सदस्य एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले आवश्यकता अनुसार शैक्षिक कार्यक्रममा पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । ‘नयाँ नयाँ फ्याकल्टीमा जानुपर्छ । नेसनको आवश्यकता अनुसार पुनरावलोकन गर्न पर्छ,’ उनले भने ।
कुनै समय भर्नाको समयमा फोन नै बन्द गर्नुपर्ने अवस्था आउने गरेको उनले स्मरण गरे । ‘केयूमा भर्नाको समयमा फोन बन्द गर्नुपर्ने हुन्थो । यस्तो आकर्षण भएको विश्वविद्यालय कहाँ पुग्यो अध्ययन अनुसन्धान गरेर जानुपर्छ,’ उनले भने ।
कामु उपकुलपति वाग्लेले भने विश्वविद्यालयमा आकर्षण भने नबिग्रिएको दाबी गरे । ‘आकर्षण बिग्रेको छैन । राम्रो विश्वविद्यालयबाट पीएचडी गरेर आएका विषय विज्ञ २ सय प्राध्यापक हुनुहुन्छ,’ उनले भने, ‘राज्यले आशा जगाउन नसेकका कारण शिक्षाको सिंगो अर्थशास्त्र धराशायी बनेको हो ।’
एआई लगायतका नयाँ नयाँ कोर्स सुरु गरिएको उनले बताए ।
प्रतिक्रिया 4