२४ माघ, काठमाडौं । साविक विजेता न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
धरान रंगशालमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा युनाईटेड खर्साङ फुटबल क्लब (यूकेएफसी)लाई ३–१ ले पराजित गर्दै एनआरटीले चर्च ब्वाइजसँग उपाधि भेट पक्का गरेको हो ।
एनआरटीको जितमा प्रदीप बुढाथोकी दुई तथा शिशिर लेखीले एक गोल गरे ।
खेलको २८ औं मिनेटमा शिशिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर तीन मिनेटपछि नै यूकेएफसीका हेमराज भुजेलले बराबरी गोल फर्काए ।
त्यसपछि ४५ औं मिनेटमा प्रदीपले व्यक्तिगत पहिलो गोल गर्दै पहिलो हाफमै एनआरटीलाई २–१ को अग्रता दिलाए । प्रदिपले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको म्यान अफ द म्याच शिशिर लेखी घोषित भए । उनले नगद १० हजार हात पारे ।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा भुटानको रोएल थिम्पु क्लबलाई ७-० ले पराजित गर्दै चर्च ब्वाइजले फाइनलमा स्थान बनाएको थियो ।
एनआरटी र चर्च ब्वाइजबीचको फाइनल खेल आउने शनिवार हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4