
२५ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाका कवाड व्यवसायीमाथि अराजक गतिविधि भइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कवाड व्यवसायीमाथि भइरहेका यस्ता गतिविधि रोक्नसमेत आग्रह गरिन् ।
प्रत्यक्ष रोजगारी, व्यापार घाटा कम गर्न खेलेको भूमिका र वातावरणीय सरसफाइ समेतलाई यो व्यवसायका कारण फाइदा पुगेको उनले बताइन् ।
‘एक आख मानिस प्रत्यक्ष रोजगारमा जोडिएका छन् । देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण भूमिका रहेको छ । वातावरणीय सरसफाइमा पनि ध्यान दिएको छ,’ उनले भनिन् ।
कर तिरेर व्यवसाय सञ्चालन गर्दै आउँदा पनि महानगरले कवाड व्यवसायीलाई तोडफोड, सामान जफत गरिरहेको भन्दै उनले आपत्ति जनाएकी हुन् ।
‘कानुन बमोजिम दर्ता भइ आफ्नो पेशा/व्यवसाय दर्ता गर्दै आएका कवाड व्यवसायीमाथि भइरहेका यस्ता खालका अराजक गतिविधिको रोक लगाइ कवाड व्यवसायीको जिउधनको सुरक्षा माग गर्दै स्वतन्त्र रुपमा आफ्नो पेशा/व्यवसाय गर्न पाउने हकका लागि सभामुखमार्फत सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु,’ शुक्रबारको बैठकमा उनले भनिन् ।
प्रतिक्रिया 4