
काठमाडौं । संवादमा आधारित टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन’को प्रसारण विहिबारदेखि हिमालय टिभीमा सुरु भएको छ ।
जात व्यवस्थाको विविध आयामबारे युवा पुस्तासँग छलफल गर्ने, उनीहरूको अनुभवबाट सिक्ने र जातीय विभाजन, विभेद र बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्यले दलित लाइभ्स म्याटरले यो कार्यक्रम उत्पादन गरेको हो ।
विहिबार बेलुका प्रसारण भएको १२ एपिसोडको पहिलो श्रृंखलामा सातै प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न समुदाय, लिङ्ग, भाषा, आस्था र शारीरिक अवस्थाका ७ जना युवा सहभागी भए ।
जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय र मुद्दा कसरी अन्तरसम्बन्धित छन् भन्नेबारे कार्यक्रमले प्रष्ट तुल्याउने विश्वास लिएको निर्माता कम्पनी दलित लाइभ्स म्याटरले जनाएको छ ।
चर्चित डकुमेन्ट्री फिल्म मेकर समेत रहेकी शान्त नेपालीले निर्देशन गरेको यो श्रृंखलाको प्रस्तोतामा वृद्धिका सेन्चुरी छन् । ‘जात व्यवस्था र यसले सृजना गरेका विभेद र असमानता कुनै निश्चित समुदायले मात्र बोल्नुपर्ने विषय पक्कै होइन’ विज्ञप्तिमा दलित लाइभ्स म्याटरले उल्लेख गरेको छ ।
यो कार्यक्रम प्रत्येक विहिबार बेलुका ९ः३० बजे हिमालय टिभीबाट प्रसारण हुन्छ ।
प्रतिक्रिया 4