
काठमाडौं । टिभी श्रृंखलाका चर्चित कलाकार सागर लम्साल ‘बले’ अब फिल्म अभिनयलाई निरन्तरता दिन तयार छन् । ‘लोफर’, ‘लज्जा’ र ‘हैरान’जस्ता कथानक फिल्ममा अभिनय गरेका उनको आगामी फिल्मको रुपमा ‘लाज शरणम्’ प्रदर्शन तयारीमा छ ।
अनलाइनखबरसँग बलेले आफ्नो क्यारेक्टरसँग मेल खाने फिल्ममा काम गर्ने बताए । उनले भने, ‘मलाई अन्य ३/४ फिल्मको अफर पनि आएको छ । कथा मनपर्यो भने ती फिल्म पनि गरौंला ।’
आफ्नो प्राथमिकता समाजका कथा बोक्ने फिल्मको छनोट हुने उनले बताए । ‘जुन फिल्मले समाजको कथा बोकेको छ र मेरो क्यारेक्टरसँग मेल खाने सम्भावना छ, त्यस्ता फिल्ममा काम गर्न चाहन्छु’ उनले भने ।
हालै ३५ लाख रुपैयाँ पारिश्रमिकमा उनले फिल्म ‘डल्लेले इन्ट्री मार्यो’मा साइन गरेको चर्चा छ । यसलाई पनि उनले स्वीकारे । यसबारे भने, ‘यो फिल्ममा काम गर्नका लागि केही शर्त राखिएका थिए । जस्तै ५ देखि ६ महिनासम्म अन्यमा काम गर्न नपाउने । त्यस्ता शर्त स्वीकार गरेर मैले यो फिल्म साइन गरेको हुँ ।’
त्यो पारिश्रमिक आफूले मागेको नभई निर्माताले नै अफर गरेको दावी उनले गरे । ‘सक्किगो नि’ सिरियलको निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ फागुन १४ गते प्रदर्शन हुँदैछ । फिल्ममा सिरियलका अधिकांश कलाकारले अभिनय गरेका छन् ।
बलेले फिल्ममा आफ्नो भूमिका चिनाउन चाहेनन् । ‘थप कुरा रिलिज भएपछि थाहा हुन्छ’ उनले भने । ‘लाज शरणम्’को विषयलाई लिएर उनले भने, ‘लाज शरणम भद्रगोल हँदै सक्किगो नि टिमको फिल्म हो जसले समाजको कथा बोकेको छ । अहिलेसम्म नदेखिएका पात्र यसमा छन् ।’
उनले सिरियल ‘सक्किगो नि’लाई बन्द नगरिकनै टीमले फिल्मलाई अघि बढाउने बताए । भन्छन्, ‘१२ ,१३ वर्षसम्म एउटा टिम भएर काम गरेका छौं । अब सानो पर्दाबाट ठूलो पर्दामा किन नजाने भन्ने सोचले लाज शरणम तयार गरिएको हो । तर फिल्मको लागि सक्किगोनि लाई बन्द भने गर्दैनौं । सबैकुरालाई सँगै अघि लिएर जान्छौं ।’
उनले ‘लाज शरणम्’लाई श्रृंखलाकै रुपमा अघि बढाउन संकेत पनि गरे । के तपाईंहरूले ‘तीतो सत्य’बाट जन्मिएको ‘छक्कापञ्जा’ श्रृंखला हिँडेको बाटोलाई पछ्याउन खोज्नुभएको हो भन्ने प्रश्नले उनले भने, ‘यदि लाज शरणम’ सफल भयो भने यसको पनि सिरिज नआउला भन्न सकिन्न ।’
फिल्ममा काम गर्दा आफ्नो अभिनय क्षमतामा फरक नआएको उनले बताए । ‘सानो पर्दामा काम गर्दा सानो टिमसँगै काम गर्नुपर्छ भने ठूलो पर्दामा भने ठूलो टिमसँगै काम गर्नु पर्छ’ भन्छन्, ‘तर यसले मेरो काममा धेरै फरक परेको छैन ।’
अभिनय यात्राबारेमा सोच्दा सकारात्मक र प्रेरित महसुस हुने उनले बताए । उनले भने, ‘सानैदेखि म कलाकार बन्ने सोचमा थिएँ । जब फिल्ममा काम गर्ने मौका पाएँ, त्यसपछि मैले यहिँ केहि गर्नुपर्छ भनेर नाटक पनि सिकेँ ।’ सुरुका २ फिल्म विना पािरश्रमिक गरेको उनको भनाई छ ।
‘अहिले आफूलाई हेर्दा यस्तो लाग्छ कि वास्तविक यात्रा भने अझै सुरु भएको छैन, गर्नुपर्ने धेरै काम छन्’ उनले भने । टिभी सिरियलको अनुभवले आफूलाई फिल्ममा सफल बनाएको उनको भनाई छ । ‘त्यसैले अब सिरियल, म्युजिक भिडियो र फिल्मलाई सँगै अगाडि बढाउने छु’ उनले भने ।
तस्वीरहरू : शंकर गिरी
दृश्य सम्पादक : नवराज महरा
प्रतिक्रिया 4