
२४ माघ, पोखरा । २०८ वर्ष लामो इतिहास बोकेका ‘गोर्खा लाहुरे’हरुको बेलायतसँगको सम्बन्ध त प्रगाढ नै हुने भयो । दुई पटक नेपाल आएकी रानी एलिजाबेथ द्वितीय, ३ पटक नेपाल आएका उनका जेठा छोरा चार्ल्स तृतीयसँग पनि नेपालको छुट्टै सम्बन्ध छ ।
राजा चार्ल्स तृतीयका कान्छा भाइ राजकुमार एडवार्ड दम्पती पोखरा आउँदा बेलायत र त्यहाँको राजपरिवारसँगको सम्बन्ध शुक्रबार पोखरामा अझ बढी मुखरित भएको छ ।
राजकुमार दम्पतीले पोखरामा गोर्खा वेलफेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारसँग भेट्दा होस् वा शुक्रबार दीपस्थित ब्रिटिस क्याम्पमा दीर्घसेवा प्रदान गर्नेलाई तक्मा प्रदान गर्दा होस्, बेलायतसँगको पुरानो सम्बन्ध स्मरण गरिएको छ।
बेलायती सेनामा भर्ती हुने परम्परालाई निरन्तरता दिँदै छानिएकाहरु र उनको परिवारको खुसी त राजकुमारकै सामुन्ने छचल्किएको छ ।
लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालबाट बेलायती सेनामा भर्ती भएका नयाँ २७४ जनाको डफ्फाले राजा चार्ल्स तृत्तीय र त्यहाँको राजसंस्थाको नाममा सपथ खाए । बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफीले नेपाली नौजवानका परेड अवलोकन गर्दै जब उनीहरुलाई प्रमाणीकरण गरे, तब भर्ती हुने नौजवानका परिवारले हर्षका आँसु बहाए ।
२ सय ८ वर्षदेखि नेपालबाट यसरी नै बेलायती सेनामा भर्ती हुने परम्पराको अन्त्य हुनुपर्ने आवाज एकाथरीले उठाइरहेका छन् । तर शुक्रबार यसरी भर्ती हुने जवान र उनका परिवारले राजकुमारबाटै प्रमाणीकरण हुन पाउनुलाई गर्वले छाती मात्रै फुलाएनन्, भविष्य नै सुनिश्चित भएको महसुस गरे ।
अब परिवार र भावी सन्ततीले पनि दु:ख नपाउने विश्वास व्यक्त गर्दै राजकुमार एडवार्डसँग खुसी साटे । आफ्नो नौजवान छोरा सुम्पिएको भन्दै खादा-माला लगाइदिए । राजकुमार एडवर्डले उनीहरुलाई भने, ‘यो ऐतिहासिक अवसरमा गर्व गर्नुस् ।’
राजा हटाएर लोकतान्त्रिक गणतन्त्र ल्याएको देश नेपालका १३ हजारभन्दा धेरै जवानले बेलायती सेनामा भर्ती हुनका लागि आवेदन दिएका थिए । तीमध्ये २७४ जना भर्ती हुन सफल हुँदै राजकुमारबाटै प्रमाणीकरण भएर बेलायत जान पाउनुलाई उपलब्धि मानेका छन् । उनीहरुलाई स्वस्तिशान्ति मन्त्र वाचनपछि राजा चार्ल्स र राजसंस्थाको नाममा सपथ खुवाइएको थियो ।
‘म हजुर महाराज राजा चार्ल्स तृतीयप्रति सधैं इमान्दार, बफादार र कर्तव्यनिष्ठ रही काम गर्ने छु,’ बेलायती सेनामा भर्ती भएका डफ्फालाई सपथ खुवाइयो, ‘आफ्नो काम र कर्तव्यअनुसार हजुर महाराजको उत्तराधिकारीहरु र भावी सन्ततिप्रति इमानदारी र निष्ठा राखी सबै तत्वहरुविरुद्ध, उहाँ र उहाँका उत्तराधिकारीहरुको व्यक्तिगत रुपमा र राजसंस्थाको मर्यादाको रक्षा गर्ने छु ।’
बेलायती सेनामा भर्ती गराएर पठाउन थालिएको इतिहास २ शताब्दी लामो भइसक्दा यसको राम्रो र नराम्रो पक्षका विषयमा बहस भइरहन्छ । तर भर्ती हुने र उनको परिवारका आँखामा भने खुसी छचल्किएको थियो ।
स्याङ्जाको वालिङ नगरपालिका- १४ का विश्वास ज्यामी रानाले बेलायती सेनामा भर्ती हुन पाउनुलाई ठूलो उपलब्धि मानेका छन् भने परिवारका सदस्यमा खुसी छाइरहेको छ । उनी आफ्नो परिवारबाट बेलायती सेनामा भर्ती हुने पहिलो व्यक्ति हुन् ।
जब राजकुमार एडवार्ड विश्वासलाई बधाई दिँदै परिवारसँग कुराकानी गर्न थाले, तब उनीहरुले खुसी हुँदै खादा लगाइदिए । दोभाषेमार्फत राजकुमारले कस्तो लागिरहेको छ भनेर सोध्दा विश्वासका बाबुआमाले भने, ‘जवान छोरो भर्ती भएर तपाईंहरुको देश जाँदैछ, अब हजुरकै जिम्मा भयो ।’
राजकुमारले उनलाई यो अवसरमा गर्व गर्न आग्रह गरे भने भर्ती भएका विश्वासलाई शुभकामना दिए । १९ वर्ष मात्र लागेका विश्वासको परिवारलाई यसअघिसम्म चिन्ता थियो, उसको भविष्य के हुने हो । तर अब उनीहरु ढुक्क छन् ।
पहिलो, दोस्रो विश्वयुद्ध लडेको बिरासत सम्झिएका नयाँ भर्ती भएका परिवारलाई अर्को कुराको पनि ढुक्क छ । ‘गोर्खालीले ठूलो लडाईँ त जित्न सक्छन् तर यतिबेला ब्रिटिस लाहुरेले ठूलो लडाईं लड्नुपर्ने अवस्था छैन,’ उनीहरुको परिवार भन्छन्, ‘त्योभन्दा पनि अब भविष्यको चिन्ता छैन ।’
कास्की लुम्लेका सजन गुरुङ र लमजुङका सुरज गुरुङको परिवारमा पनि उस्तै हर्ष र खुसी छ । दुबोको माला लगाएर बधाई दिँदा सजन र सुरजले राजकुमार एडवर्डसँग हर्षले आँसु झारे ।
कालिकोटका लालबहादुर थापाले बेलायती सेनामा भर्ती हुने सपना देखेर ठूलो मिहिनेत गरेका थिए । त्यो सपना पूरा हुँदाको क्षण लालबहादुर र उनका अभिभावक भावुक थिए ।
‘भर्ती नभएको भए के हुन्थ्यो, विदेश जान्थ्यो कि यहीँ के गर्थ्यो तर अब भविष्यको चिन्ता भएन,’ उनीहरुका अभिभावकमा खुसी छ । राजकुमार दम्पतीले भर्ती हुने उनको परिवारसँग खुसी साटासाट गर्दै तस्बिर खिचाए ।
समारोहमा राजकुमारले भनेका थिए, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजारमा केवल २७४ नयाँ गोर्खामध्ये तपाईं एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।’
मंगलबार नेपाल आएका राजकुमार एववार्ड बिहीबार पोखरा आएका हुन् । बिहीबार उनीहरुले गोर्खा वेलफेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारलाई भेटेर सहानुभूति बाँडे ।
राजकुमारसामु परिवारका सदस्यले भर्ती हुने आफ्ना मान्छेहरु सम्झिएका थिए । ट्रस्टमा १०४ वर्षीय आशाकुमारी तामाङ पनि छिन् । उनको श्रीमान् दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आवद्ध भई लडाईं लडेका थिए ।
उनीहरु बिहीबार बेलायती विरासतसँग नै जोडिएको टाइगर माउण्टेन लजमा बास बसेका थिए । शुक्रबार बिहानै माछापुच्छ्रे लगायत अन्नपूर्ण हिमशृंखला लजबाटै देखेर उनीहरु दंग परेको भ्रमण टोलीका एक प्रतिनिधिले बताए ।
गोर्खा र ब्रिटिस कर्मचारीहरूलाई ३८ वटा राज्याभिषेक पदक र दुई वटा दीर्घसेवा तथा असल आचरण पदकहरू पनि प्रदान गरिएको थियो ।
राजकुमार दम्पतीसहितको टोली शुक्रबारै लुम्ले गाउँबाट हाइकिङ गर्दै चन्द्रकोटमा बास बस्ने र शनिबार घान्द्रुकमा बस्ने कार्यतालिका छ ।
प्रतिक्रिया 4