
२५ माघ, बुटवल । पश्चिम नवलपरासी रामग्रामस्थित बरुण बेभरेजले ११ करोड रुपैयाँ लागतमा सोलार प्लान्टबाट २ मेगावाट सौर्य ऊर्जा (विद्युत) उत्पादन थालेको छ ।
रामग्राम नगरपालिका–१० परासीस्थित उद्योगमा सोलार प्लान्टबाट उत्पादन भएको सौर्य ऊर्जाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार उद्घाटन गरे ।
मन्त्री भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकारले ऐन कानुन सुधार गर्दै आन्तरिक तथा वाह्य लगानी आकर्षणका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
नवीकरणीय सौर्य ऊर्जाले वातावरण संरक्षण र आत्मनिर्भर औद्योगिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने उनले बताए । बरुण बेभरेजले नेपालमा वाह्य लगानी प्रोत्साहन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको मन्त्री भण्डारीले उल्लेख गरे ।
बरुण बेभरेजका कन्ट्री हेड विशालसिंह ठाकुरले उद्योगलाई पूर्णरूपमा हरित ऊर्जामैत्री बनाउने उद्देश्य रहेको बताए । सोलार प्लान्टबाट उत्पादित सौर्य ऊर्जा उद्योगमा खपत हुने कुल विद्युतको ३० प्रतिशत हिस्सा रहेको र भविष्यमा थप सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य रहेको बरुण बेभरेजका कमर्सियल जनरल म्यानेजर मुकेश कुमारले बताए ।
सौर्य ऊर्जा विद्युतबाट कार्बन उत्सर्जन शून्य हुने भएका कारण कम्पनीले यसलाई प्रवर्द्धन र विस्तार गर्ने बरुण बेभरेज केन्द्रीय कार्यालय भारतका प्रतिनिधि एसएन भट्टले बताए ।
१७ बिघामा फैलिएको उद्योगमा ३ अर्ब लगानी भएको र ४ सय जनाले रोजगारी पाएका बरुण बेभरेजका महाप्रबन्धक रविन्द्र पाण्डेले जानकारी दिए । चिसो पेय पदार्थ पेप्सी, माउन्टेन ड्यु र प्रशोधित पानी उत्पादन गर्दै आएको उद्योगमा ४ सय जनाले रोजगारी पाएका उनले बताए ।
प्रतिक्रिया 4