
२५ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन पर्सि, २७ माघदेखि काठमाडौंमा सुरु हुँदैछ ।
यो सम्मेलनबाट केन्द्रीय नेतृत्व चयन गर्नेगरी तयारी चलिरहेको छ । जसका निम्ति देशभरिबाट १५ सय प्रतिनिधि काठमाडौं आउनेछन् । यी मध्ये १ हजार ३ सय ५० चुनिएका र बाँकी मनोनीत प्रतिनिधि हुनेछन् ।
नेताहरूका अनुसार पार्टीको अध्यक्ष पदमै मतदान हुने निश्चित जस्तै भएको छ । किनकि युवा नेता नेत्र चापागाईंले अध्यक्ष पदमै उम्मेदवारी घोषणा गरेका छन् । त्यसैले चापागाईंले उम्मेदवारी फिर्ता नलिए पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग उनको प्रतिस्पर्धा हुनेछ ।
स्रोतका अनुसार चापागाईंले उम्मेदवारी फिर्ता नलिने अडान लिएकाले मत विभाजनबाटै नेतृत्व चयन हुने सम्भावना बढी छ । पूर्वविद्यार्थी नेता चापागाईंले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणासहित एक अलग प्रस्ताव तयार पारेका छन् ।
महाधिवेशनले टुंगो लगाउनुपर्ने अन्तर्वस्तु भनेर चापागाईंले तयार पारेको दस्तावेज चार खण्डमा विभाजित छन् । पहिलो खण्डमा सामाजिक–आर्थिक एजेन्डाहरू, दोस्रोमा संवैधानिक व्यवस्थाको सुधार र तेस्रोमा पार्टी पुनर्संरचनाको प्रस्ताव गरिएको छ ।
चौथो खण्डमा चापागाईंले पार्टी निर्णयहरूको समीक्षा उल्लेख छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि बनेको नयाँ शक्ति पार्टीले गरेका कमजोरीहरूलाई चापागाईँंले पाँच बुँदामा समेटेका छन् ।
१. चुनाव चिह्नको लफडा
नयाँ वैकल्पिक शक्ति निर्माणको उद्देश्य सहित गठन भएको पार्टीले २०७४ को चुनावमै चिह्नको संकट खेप्नु परेको थियो । तत्कालीन सरकारले चुनाव चिह्नको समस्या सिर्जना गर्दा स्वतन्त्र उम्मेदवारी नदिएर चिह्नका निम्ति आन्दोलन गर्दा गलत सन्देश गएको चापागाईंका निष्कर्ष छ ।
‘चुनाव चिह्नका लागि आन्दोलन गर्नु र अन्त्यमा चुनाव चिह्न सापर्ट लिएर निर्वाचनमा जानु नियत राम्रो हुँदाहुँदै पनि जनतामा पुरानो शक्ति जस्तै देखियो,’ उनको प्रस्तावमा उल्लेख छ ।
२. वाम एकतमा जानु
२०७४ को चुनाव अगाडि वाम गठबन्धनको निर्णय भएको थियो । त्यसबेला नेकपा एमाले र माओवादी केन्द्रसँग गठबन्धन गर्ने भनेर बाबुराम भट्टराईले पनि हात उठाएका थिए । जसलाई चापागाईंले गल्ती भनेका छन् ।
‘नयाँ शक्ति गठन भएको छोटो समयमा नै वैचारिक बहस बनाएर गाउँ प्रवेश गर्दागर्दै ओली–प्रचण्डको सत्ता स्वार्थबाट बनेको वाम एकतामा नेतृत्व जानु सैद्धान्तिक गल्ती भएको थियो,’ उनले लेखका छन् ।
३. उपेन्द्रसँग एकता
नेत्र चापागाईंले पार्टीको तेस्रो गल्तीमा उपेन्द्र यादवसँग एकता गर्नुलाई मानेका छन् ।
‘संघीयता र पहिचानको मुद्दामा कार्यगत एकता गरेर संघीयतालाई अधिकार दिलाउन सरकारलाई दबाब सिर्जना गर्नपर्थ्यो,’ उनको प्रस्तावमा भनिएको छ, ‘पार्टी नै एकता गर्दा जनतामा एकथान क्षेत्रीय मधेशवादी दलको रूपमा जनताको बुझाइ भयो, त्यसैले वैकल्पिक राजनीतिक शक्ति बन्न सकेन ।’
४. जसपा निर्माण
पार्टी गठनको १० वर्ष पुग्दै गर्दा भएको चौथो गल्ती जसपा निर्माण भएको उनको निष्कर्ष छ । २०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका थिए ।
उक्त अध्यादेशको उद्देश्य पार्टी विभाजन थियो, निशानामा उपेन्द्र–बाबुराम नेतृत्वको तत्कालीन समाजवादी पार्टी थियो । तर, पार्टी विभाजन रोक्न भनेर महन्थ ठाकुर नेतृत्वको राजपासँग एकता गरेर जसपा निर्माण भएको थियो । यसलाई चापागाईंले चौथो गल्ती भनेका छन् ।
‘नेतृत्वको धुमिल छवि, मधेश केन्द्रित मात्रै चिन्तनको कारणले जनताले वैकल्पिक शक्ति मान्न तयार भएन । मुद्दा केन्द्रित कार्यगत एकता मात्रै गर्नुपर्नेमा पार्टी एकता गर्नु हाम्रो सामूहिक गल्ती थियो,’ प्रस्तावमा उल्लेख छ ।
५. प्रचण्डसँग चुनावी सहकार्य
नयाँ वैकल्पिक शक्ति निर्माणको समस्या औँल्याउने क्रममा चापागाईंले पाँचौ गल्ती प्रचण्डसँग चुनावी सहकार्यलाई मानेका छन् ।
२०७९ को चुनावमा समाजवादी केन्द्र बनाउने उद्देश्यसहित चुनावी सहकार्य भएको थियो । जसक्रममा बाबुराम भट्टराईले गोरखा–२, प्रचण्डलाई छोडिदिएका थिए । नेत्रले यो निर्णयलाई गल्ती भनेका छन् ।
‘चितवनमा प्रचण्ड विरोधी चुनावी माहौल निर्माण भएपछि प्रचण्ड चुनावी क्षेत्र सुनिश्चित खोज्दै हिँडेको उक्त समयमा समाजवादी केन्द्रको जालसाजी पासो फ्याकेको सजिलै बुझ्न सकिन्थ्यो,’ उनले लेखेका छन्, ‘त्यति सजिलै बुझ्ने कुरामा पनि पार्टीमा पर्याप्त छलफल नगरी निर्वाचन क्षेत्र छोड्नु र चुनाव चिह्न लिनु, समाजवादी केन्द्रका लागि वार्ता समिति बनाउनुले जनतामा फेरि माओवादीमा फर्किने भन्ने भ्रम पैदा भयो ।’
प्रतिक्रिया 4