
२७ माघ, काठमाडौं । चलचित्र विकास बोर्डले मधेसमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा फागुन १३ देखि १५ गतेसम्म तालिम सञ्चालन गर्न लागिएको चलचित्र विकास बोर्डका सदस्य केएल बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाहरूको सहभागिता रहनेछ ।
समावेशी सिद्धान्तका आधारमा मधेस प्रदेशका ८ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले सात दिनको म्याद दिई बिहीबार आवेदन आह्वान गरेको छ । आवेदन फाराम बोर्डको वेबसाइटबाट डाउनलोड गरी भरेर बोर्डको इमेल ठेगाना dbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।
युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गर्न तालिम सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए । मधेसको मौलिक एवं यथार्थपरक कथा उजार गर्ने यो तालिमको उद्देश्य रहेको डिसीले बताए ।
अध्यक्ष डिसीका अनुसार मधेशको चलचित्रकर्मलाई राष्ट्रिय मूलधारसँग जोड्ने, मातृभाषी चलचित्रको प्रवर्द्धन गर्ने बोर्डको लक्ष्यअनुसार तालिम सञ्चालन हुनेछ।
तालिम संयोजक समेत रहेका बोर्ड सदस्य केएल बुढाथोकीका अनुसार तालिमकै क्रममा प्रशिक्षार्थीहरुबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्ययमबाट प्रस्तुतीकरणका लागि पहल गरिनेछ।
प्रतिक्रिया 4