
२७ माघ, जनकपुरधाम । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मधेश प्रदेश समितिको अध्यक्षमा गणेशकुमार साह निर्वाचित भएका छन् ।
शनिबार धनुषाको लालगढमा प्याब्सन मधेश प्रदेशको चौथो अधिबेशनबाट अध्यक्षमा साह सर्वसम्मत निर्वाचित भएका हुन् । उनी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थिति गंगोत्री बोर्डिङ स्कुलका सञ्चालक छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र ठाकुर (रौतहट), उपाध्यक्षमा अरुण देव (सप्तरी) र पुरण प्रधान ( पर्सा) निर्वाचित भएका छन् । सचिवमा लालबाबु राय (सिरहा), कोषाध्यक्षमा उज्जवल शमां (सर्लाही) र सहसचिवमा सिंहेश्वर पासवान (सिरहा) निर्वाचित भएको प्याब्सनका केन्द्रिय सदस्य नरेन्द्र शर्माले जानकारी दिए ।
सदस्यहरुमा रामवरण यादव, पुरुषोत्तम बुढाथोकी, शिवचरण साह, पूर्णबहादुर लामा निर्वाचित भएका हुन् । १५ सदस्यमा प्रदेश समितिमा सहकोषाध्यक्ष र तीन मनोनीत पछि गरिने छ । प्याब्सनको उद्घाटन सत्र उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए ।
मन्त्री पौडेलले नेपाललाई शिक्षाको हब बनाउन सकिने बताए । ‘देशभित्र राम्रो शिक्षाको ग्यारेन्टी मात्रै गर्ने होइन । विदेशवाट विदेशी विद्यार्थीहरु अध्ययनका निम्ति नेपालमा आउने परिस्थिति निर्माण गर्न सक्छौं,’ उनले भने ।
प्रतिक्रिया 4