
काठमाडौं । चलचित्र विकास बोर्डले अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’का लागि ठेक्का आह्वान गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै बोर्डले इच्छुक कम्पनीलाई ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ ।
बोर्ड अध्यक्ष दिनेश डीसीले २ महिनाभित्र शिलान्यास गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार, यो स्टुडियो मुलुकको सबैभन्दा ठूलो इनडोर छायांकन स्टुडियो हुनेछ ।
यसअघि निजी क्षेत्रसँग केही स्टुडियो भएपनि फिल्म क्षेत्रको भने आफ्नै स्टुडियो छैन । यो परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङ स्थल प्रदान गर्ने आशा बोर्डले लिएको छ ।
बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने बताइएको स्टुडियो केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन । बोर्ड अध्यक्ष डीसीको सक्रियतामा स्टुडियो निर्माणको तयारी अघि बढेको हो ।
‘स्टुडियो निर्माणपछि स्वदेशी फिल्मका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुनेछ’ अध्यक्ष डीसीले भने ।

भदौ २१ गते बोर्ड अध्यक्ष डिसी, सदस्यसचिव राजेशकुमार थापा, बनेपा नगरपालिका १० र १३ का वडाध्यक्षहरु र स्थानीय प्रतिनिधिले स्टुडियो निर्माण हुने थलोको अवलोकन भ्रमण गरेका थिए ।
असार २८ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।
बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको थियो । आर्थिक २०८०–८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो । फिल्म स्टुडियोको निर्माण लागत ३९ करोड रुपैयाँ बताइएको छ ।
प्रतिक्रिया 4