
काठमाडौं । सन् १९९० को दशकका ७ चर्चित पोखरेली ब्याण्ड एउटै स्टेजमा गुञ्जिएका छन् । ‘ब्याक टु नाइन्टिज : विरासतलाई फर्केर हेर्दा’ नामक कन्सर्ट पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार सम्पन्न भयो ।
पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् । यो कन्सर्ट यी ब्याण्डको पुनरागमनको क्षण समेत बन्यो र दर्शक साक्षी बने ।
चर्चित ब्याण्ड कन्दरा, मध्यान्ह, लेकाली, डिमर्चा, ब्रोसिस, देउराली, भेगाबनले एउटै स्टेजमा प्रस्तुति दिए । अर्को पोखरेली सांगीतिक समूह नेपथ्य भने कन्सर्टमा सहभागि भएन ।
‘पोखरालाई संगीतको राजधानी भनिन्थ्यो । पछिल्लो समय सुस्ताएको पनि थियो । त्यो बेलाको संगीतलाई अहिलेको पुस्तामाझ पुर्याउनु र पुस्ता हस्तान्तरण गर्नु मुख्य उद्देश्य हो’ आयोेजक संस्था पोखरा संगीत कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसलाई संगीत र कलाकारप्रतिको सम्मानको रुपमा पनि लिएका छौं ।’
श्रेष्ठ कमब्याक तयारीमा रहेको ब्याण्ड डिमर्चाका लिड भोकलिस्ट पनि हुन् । उनले आफूहरूको लागि पनि यो महत्वपूर्ण प्लाटफर्म र अवसर हुने बताए । नयाँ लाइनअपसहित ब्याण्ड फर्किएको र गीत सार्वजनिक गर्ने तयारीमा आफूहरू रहेको बताए ।
भव्य कन्सर्टमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, स्रष्टा, कलाकार र संगीतप्रेमी उपस्थित थिए । ‘सांगीतिक प्रस्तुतिले उपस्थित सबैलाई पुराना दिनहरूमा फर्काएर रमाइलो अनुभूति गरायो’ कन्सर्टपछि पोखरा महानगरका मेयर आचार्यले भने ।
पोखरालाई पर्यटन राजधानी र सन् २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा स्थापित गर्न यो कन्सर्टले सफल बनाउने आशा आफूले लिएको मेयर आचार्यले जनाए ।
प्रतिक्रिया 4