+
+

बाबुरामलाई रेशमले भने- तपाईंकै वर्गले अलग्याए, चिन्ता नगर्नुस् हामी मिलाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १४:१७

२७ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई आफ्नै वर्गबाट अलग्गिन परे पनि चिन्ता नगर्न आग्रह गरेका छन् ।

आइतबारबाट काठमाडौंमा चलिरहेको नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा चौधरीले आफूहरूले बाबुराम भट्टराई नभई बाबुराम नेपाली चाहेको बताए ।

‘…बाबुरामजी के गर्नु तपाईं विधि विधान सबै मिलाउन जान्ने व्यक्ति । तपाईंलाई तपाईंकै वर्गले अलग्याए । चिन्ता नगर्नोस् तपाईं रत्तिभर चिन्ता नगर्नुस्,’ चौधरीले सम्बोधनको क्रममा भने, ‘हामी तपाईंलाई मिलाउँछौं । हामी तपाईंलाई बाबुराम भट्टराई होइन, बाबुराम नेपाली बनाउन चाहन्छौं । हामीलाई नेपाली बाबुराम चाहिएको छ ।’

सोही प्रसंगमा बोल्दै चौधरीले गैरआवासीय नेपाली नागरिकलाई भिसा निःशुल्क दिनेगरी सरकारले ल्याएको अध्यादेशको विरोध गरे ।

‘नेपाली नेपाली भन्ने नेपालभित्र छोरी पनि छैन, ज्वाईं पनि छैन, भाइ पनि छैन , सम्धी पनि छैन । सबै उता छन् । सुन्दैछु उताका मान्छेलाई पनि भिसा दिने रे । उताका मान्छेलाई पनि नागरिकता दिने रे,’ उनले भने, ‘पैसा कमाउनेले १० वर्षसम्म भिसा निशुल्क पाउने रे । हलो जोत्नेले मलमा समेत कर बुझाउनुपर्ने । पैसा कमाउने डलर कमाउनेलाई भिसा निशुल्क । राम राम राम सम्धी कै सम्बन्ध भयो हैन त बाबुराम जी ?’

उनले आफूहरूलाई अन्य कार्यक्रममा पछाडि राख्ने गरेको र ताली मात्रै बजाउने काम भएको भए पनि बाबुराम नेतृत्वको दलले अगाडि नै सोफामा राखेको भन्दै खुसी व्यक्त गरे ।

नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा नयाँ र वैकल्पिक दलका नेताहरूलाई मात्रै निम्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?