२७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन महत्वपूर्ण खेलाडीहरूले आगामी फागुनमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता गुमाउने भएका छन् । हिराकुमारी भुजेल, दीपा शाही र अमिषा कार्कीले प्रतियोगिता गुमाउने छन् ।
डिफेन्डर हिरा र मिडफिल्डर दीपा साफ च्याम्पियनसिपको पहिलो खेलमै घाइते भएपछि उक्त प्रतियोगिता नै गुमाएका थिए । उनीहरू अझै रिकभर भइनसकेकाले आगामी प्रतियोगिता गुमाउने महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले जनाए ।
त्यस्तै पछिल्लोपटक साफ च्याम्पियनसिप खेल्दाको टोलीबाट अमिषा कार्कीले प्रतियोगिता गुमाउनेछिन् । उनी नेपाली सेनाको सहायक सेनानी पदमा बढुवा भएर त्यताको तालिममा सहभागी भइरहेकाले यस प्रतियोगिता खेल्ने छैनन् । यो हिसाबले प्रशिक्षकले अब तीनवटा खेलाडीको विकल्प खोज्नुपर्नेछ ।
एन्फाको आयोजनामा फागुन ५ देखि दशरथ रंगशालामा महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालसँगै म्यानमार, लेबनान र कीर्गिस्तानको सहभागिता रहनेछ ।
फिफा वरियतामा नेपाल १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा रहँदा कीर्गिस्तान १२८औं र लेबनान १३४औं स्थानमा छन् । प्रतियोगिताको सबैभन्दा बलियो टोलीका रूपमा म्यानमार रहेको छ ।
प्रतिक्रिया 4