
२७ माघ, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले माओवादी सशस्त्र युद्धका कारण नेपाल ५० वर्ष पछाडि धकेलिएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
माघ २४ गते संसद् बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ८ गते अधिवेशन बोलाउने निर्णय गर्नु थियो भने ६ दिन अगाडि किन अध्यादेश जारी गरियो भनेर सरकारलाई प्रश्न गरेका थिए ।
त्यसक्रममा उनले ‘विगत ३५ वर्षमा एमाले र कांग्रेसले नगरेको कुरा के ६ दिनमा गर्नुपर्ने थियो र यसो (अध्यादेश ल्याइयो) गर्नुपर्यो ?’ भनेर प्रश्न गरेका थिए ।
आइतबार प्रतिनिधि सभाको बैठकमै प्रचण्डलाई जवाफ दिने क्रममा एमाले सांसद पदम गिरीले माओवादी सशस्त्रबारे युद्ध स्मरण गरेका हुन् ।
‘म स्मरण गराउन चाहन्छु– यहाँहरू विगततिर फर्किनुस् हामीले के गर्यौं के गरेनौं । हामी खुला छलफल गर्न तयार छौं, तर तपाईंहरूले युद्धको तुवाँलो यो मुलुकमा नमाडिरिएको भए,’ गिरीले अघि भने, ‘युद्धको आगो नबलेको भए यो मुलुकमा खर्बौं रुपैयाँको आर्थिक नोक्सानी पर्ने थिएन । खर्बौंको पूर्वाधार नोक्सानी बेहोर्नुपर्ने थिएन ।’
तत्कालीन माओवादीले २०५२ सालदेखि दश वर्षसम्म सशस्त्र युद्ध गरेको थियो । उक्त सशस्त्र युद्धलाई लिएर विगतमा समेत एमालेले प्रश्न उठाउँदै आएको छ ।
यसबारे आइतबार पनि एमाले सांसद गिरीले भने, ‘त्यही कारण (माओवादी सशस्त्र युद्ध)ले आज यो देश ५० वर्ष पछाडि धकेलिएको छ । हामी आज अविकास र यो पछौटेपन र गरिबीको दुष्चक्रबाट गुज्रनुपर्ने अवस्था भएको छ ।’
प्रतिक्रिया 4