+

युरोपमा कस्तो भइरहेको छ एन्जिलाको पहिलो अनुभव ?

२०८१ माघ  २७ गते १७:३४ २०८१ माघ २७ गते १७:३४

‘खेल जित्दाको समाचारमा नेपाललाई लिड गरेकी गोलरक्षक भनेर पनि लेखेको रहेछ, मेरो नामभन्दा पनि नेपालको नाम आएको भएर निकै खुसी अनि गर्व लाग्यो’ उनले भनेकी छन् ।

युरोपमा कस्तो भइरहेको छ एन्जिलाको पहिलो अनुभव ?

२७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा यतिबेला क्लब फुटबलका लागि ग्रीसमा छिन् । उनलाई ग्रीक महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४-२५ को लागि अनुबन्ध गरेको थियो ।

उनले क्लबका लागि दुई खेल पनि खेलिसकेकी छन् जसमध्ये एक खेलमा पराजित हुँदा एक खेल उनको क्लबले जितेको थियो । युरोपमा पहिलोपटक खेलिरहेकी एन्जिलाले आफ्नो अनुभवसहितको भिडियो सार्वजनिक गरेकी छन् ।

एन्जिलाले आफूलाई खेल्नका लागि अनुमति पाउन केही समय लागेको कुरा सुनाइन् । ‘जनवरीबाट मात्र खेल्न पाइने भएकाले सुरूवाती केही खेलहरू गुम्यो । दुईवटा खेलहरू खेलें । एकदम खुसी लागेको छ’ उनले भनेकी छन् ।

पहिलोपटक खेल्न पाउँदा गर्वको महसुससँगै नर्भस पनि भएको एन्जिलाले बताइन् । ‘ टिमका अरू खेलाडीहरूको खेल राम्रो हुने भएकाले नर्भस भएँ । तर सिक्दै जाने कुरा नै रहेछ, अहिले ठीकै लागिरहेको छ’ एन्जिलाले भनिन् ।

विदेशी टिमहरूको प्रशिक्षण शैली पनि नेपालभन्दा फरक पाएको उनले उल्लेख गरेकी छन् । ‘हामी अलि कराएर खेल्ने बानी, यहाँ चाहिँ शान्त रूपमा प्रशिक्षण गर्ने बानी रहेछ’ उनले भनिन्, ‘धेरै नबोलीकिन नै आफ्नो खेल खेल्ने प्राक्टिस हुँदो रहेछ, यहाँ पहिलो भिजन नै राम्रो हुन्छ पास दिने कुराहरूमा।’

रेलिगेसनको खतरानजिक रहेको उनको टिम अट्रोमिटौको पहिलो खेल अवे खेल थियो जहाँ ४-० ले पराजित भएको थियो । ‘हार्दा डर पनि लाग्यो,  रेलिगेसनमा जान लागेको टिम थियो’ एन्जिलाले सुनाइन्, ‘नतिजा जस्तो भएपनि साथीहरूले सपोर्ट र इन्करेज गरे।’

त्यसपछिको अर्को खेल जित्दा भने निकै खुसी लागेको एन्जिलाले बताइन् । ‘त्यसपछिको खेल २-१ ले जितेको थियौं, समाचारमा नेपाललाई लिड गरेकी गोलरक्षक भनेर पनि लेखेको रहेछ, मेरो नामभन्दा पनि नेपालको नाम आएको भएर निकै खुसी अनि गर्व लाग्यो’ उनले भनेकी छन् ।

अहिलेसम्म आफ्नो लागि राम्रै भइरहेको बताउँदै उनले भाषाको कुरामा मुख्य समस्या रहेको उल्लेख गरिन् । कतिले इंग्लिस नबोल्ने र उनको गोलकिपिङ प्रशिक्षक इंग्लिस नबोल्ने भएकाले केही समस्या हुने उनले बताइन् ।

विस्तारै सबैकुरा सिक्दै गएपछि सजिलो हुने उनको भनाइ छ । ‘लर्निङ एउटा प्रोसेस हो । जीवनमा सिकेर कहिले पनि सकिँदैन । मैले सिकेको कुराहरू अर्को जेनेरसनलाई पनि पास गर्न सकूँ भन्ने लाग्छ’  उनले भनिन् ।

त्यस्तै कमजोर टिममा परें भनेर कहिले पनि नसोच्ने बताउँदै उनले भनिन्, ‘रेलिगेसनको नजिक रहेको क्लबमा भएपनि पछि अझै राम्रो क्लबहरूमा जान पाऊँ भन्ने लाग्छ । देशको नाम अझै धेरै राख्न पाऊँ भन्ने सोचेकी छु।’

एन्जिला तुम्बापो सुब्बा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय