
काठमाडौं । मामाको विरासतलाई पछ्याउँदै भान्जी एकता पौडेल पनि फिल्म निर्देशनमा अघि बढ्ने भएकी छन् । शीर्ष भूमिकामा खगेन्द्र लामिछाने र आँचल शर्मालाई लिएर उनले कथानक फिल्म ‘हर्ष’ निर्देशन गर्ने टुंगो लागेको छ ।
एकता अघिल्लो दशकका चर्चित फिल्म निर्देशक शिव रेग्मीकी भान्जी हुन् । सन् १९९० देखि २००० को दशकमा ३३ भन्दा धेरै फिल्ममा काम गरेका रेग्मी कुशल निर्देशक, पटकथा लेखक, गीतकार तथा संवाद लेखक हुन् ।
उनै रेग्मीको लिगेसीलाई पछ्याउँदै एकताले फिल्म निर्देशनमा डेब्यु गर्ने पक्का भएको हो । चाँडै छायांकन हुने फिल्मलाई ई-प्राइम मुभिजको ब्यानरमा निर्माण गरिने भएको छ । अन्य ‘कास्ट एण्ड क्रू’बारे पछि जानकारी दिने तयारी छ ।
फिल्मलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्नेछन् । कार्यकारी निर्मातामा हिक्मत चोखाल छन् । आलोक शुक्लाको छायांकन रहने फिल्ममा निर्माण नियन्त्रक इश्वर घिमिरे हुनेछन् ।
निर्देशक एकताले अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म अध्ययन गरिरहेकी छिन् । यो एकेडेमी अमेरिकाको सबैभन्दा चर्चित फिल्म कलेज समेत हो । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । उनले केही छोटा फिल्म निर्देशन पनि गरेकी हुन् ।
प्रतिक्रिया 4