
काठमाडौं । १४ डिसेम्बर, २०२४ मा रकगायिका अभया सुब्बाले फेसबुकमा लेखिन्- मैले संगीतबाट ब्रेक लिइरहेकी छु । कहिलेकाहीं संकल्प पनि आफैलाई भारी पर्न सक्छ भनेर महसुस गरिँन । यस बीचमा म केवल यात्रा गर्नेछु र अन्य जुनून फेला पार्नेछु, जुन मैले संगीतको कारण छुटाएको हुनसक्छु ।’
गायिकाले लगातार पोखरा आसपासमा घुमघामका फोटो सेयर गर्दै जीवन र जगतबारेका गहन स्टाटस लेखिरहेकी थिइन् । नेपाली रकस्टारले एकाएक संगीतबाट ब्रेक लिन्छु भनेर स्टाटस लेख्दा फ्यान स्तब्ध थिए ।
यस्तोमा, अभयाको ब्याण्ड ‘अभया एण्ड स्टिम इन्जिन्स’लाई लिएर नयाँ खबर छ । ब्याण्डको नयाँ गीत ‘सँधैभरि’ युट्युव, स्पोटीफाई र एप्पल म्युजिकमा एकसाथ रिलिज भएको छ । ब्याण्डले गीत ल्याएसँगै फ्यान उत्साहित छन् । ब्याण्डको परिचित शैलीमा आएको गीतमा कार्म, नीति शाहजस्ता चर्चित कलाकार फिचर्ड छन् ।
काठमाडौंभित्रका आकर्षक लोकेसनमा छायांकन गरिएको गीतको अडियो जति मर्मस्पर्शी र आत्मपरक छ, उति नै यसको कोरियोग्राफी आकर्षक छ । गीतको कम्पोज अभया आफैले गरेकी हुन् । गिटारमा राजिव रिन्चेन पाल्जार, बासमा यज्ञ लामा, किजमा सन्देश डीसी, सेक्सोफोनमा जेम्स सिंह, सारंगीमा धर्म गन्धर्व छन् ।
अभया सुब्बाको सशक्त आवाज त भैहाल्यो, यसमा कार्म र नीतिको जोडीको उपस्थितीले भिडियोलाई आकर्षक तुल्याएको छ । ‘अभया एण्ड द स्टिम इन्जिन्स’ तिम्रो लागि, माझी दाइ, हावाहुरीजस्ता चर्चित गीतका लागि परिचित छ ।
प्रतिक्रिया 4